१४ फाल्गुन २०७६, बुधबार

एजेन्सी, १४ फागुन । युरोपियन च्याम्पियन्स लिगकाे अन्तिम १६ अन्तर्गतकाे पहिलो लेगमा बार्सिलोना र नापोली बराबरीमा रोकिएको छ । मंगलबार राति नापोलीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना र नापोली १-१ गोल बराबरीमा रोकिएको हो ।

नापोलीले शुरुवाती अग्रता लिएपनि अन्तिम समयसम्म जाेगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो । खेल शुरु भएको ३० औँ मिनेटमा ड्रिएज मार्टिन्सले गोल गर्दै नापोलीले अग्रता दिलाएका थिए ।

मार्टेन्सले १८ यार्ड टाढाबाट गरेकाे प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले बचाउने कुनै मौका पाएनन् । उनले जिलिन्स्कीको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल गरेको नापोलीले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ५७औं मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । नेल्सन सेमेडोको लो क्रसमा ग्रिजमनले गोल गरेका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल १-१ मा टुंगियो ।

खेलको ८९ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित भयो । मिडफिल्डर आर्टुरो भिडालले एकै मिनेटमा दुई पहेंलो कार्ड खाँदै मैदानबाट बाहिएका थिए ।

अब लेगकाे दाेस्राे खेल बार्सिलाेनाकाे घरेलु मैदानमा १४ मार्चमा हुनेछ । उक्त खेलका लागि मिडफिल्डर सर्जियो बुस्केट्स उपलब्ध हुने छैनन् । उनले प्रतियोगिताको तेस्रो पहेंलो कार्ड पाएका कारण एक खेल गुमाउने भएका हुन् ।

LIVE TV