१३ फाल्गुन २०७६, मंगलवार

नयाँ दिल्ली, १३ फागुन । भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको ज्यान गएको छ ।

नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुबीचमा भएको झडपका क्रममा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका छन् । दिल्ली प्रहरीले घटनामा परी सात जनाको ज्यान गएको र त्यसमध्ये एक जना प्रहरी र अरु छ जना सर्वसाधारण नागरिक रहेको बताएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि सोमबार राति सुरक्षा उच्च अधिकारीहरुसँग छलफल गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो ।

उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा आइतबारदेखि प्रदर्शन र हिंसा सुरु भएको समाचारमा जनाइएको छ । प्रदर्शन मङ्गलबार पनि जारी छ ।

ढुङ्गामुढा गरिरहेको भीडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो ।

LIVE TV