१३ फाल्गुन २०७६, मंगलवार
  • देवराज पन्त,

मकवानपुर, १३ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले क्षमता भन्दा बढी भार लिएर नेपाल प्रवेश गरेका भारतीय मालबाहक ट्रकहरुलाई कारबाहीको लागि नियन्त्रणमा लिने क्रम जारी छ ।

आज (मंगलबार) पनि करिब चार दर्जन भारतीय मालहबाहक ट्रकलाई नियन्त्रणमा लिएको छ । यसअघि सोमबार पनि क्षमता भन्दा बढी भार बोकेका करिब डेढ दर्जन भारतीय मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

उक्त ट्रकहरु नेपालको भैरहवा भन्सार नाका हुँदै वीरगञ्ज, जनकपुरसम्म कोइला लगाएतको सामग्री लिएर नेपाल आएको थियो ।

‘भारबहन निर्देशिका–२०७४ बमोजिम बढी भारलाई झारेर, भार मिलानपछि मात्रै अगाडि जान पाउने व्यवस्था’ रहेको छ । तर, भार मिलान नगरी भैरहवा ट्राफिक प्रहरीले त्यत्तिकै छाडेको पाइएको छ ।

त्यतिमात्र होइन भैरहवादेखि हेटौंडासम्म करिब २ सय किलोमिटर आउँदा समेत बाटोमा रहेका दर्जनौ प्रहरी पोष्टहरुले थाहै नपाएको देखिएको छ । मकवानपुर ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाएको मकवानपुर ट्राफिक प्रमुख हरिविष्णु ढकालले बताएका छन् ।

नेपाल सरकार गृहमन्त्रालयको २०७४ कात्तिक २४ गतेको निर्णयानुसार झार्न र टुक्र्याउन नमिल्ने सामग्री बाहेक सबै वस्तु नेपालको भन्सार नाकादेखि १५ किलामिटर भित्रसम्म मात्रै ल्याउन पाउने व्यवस्था रहेको छ ।

झार्न र टुक्र्याउन नमिल्ने सामग्री रहेछन् भने सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट अनुमति लिएर मात्रै ल्याउन पाउने नियम रहेको छ ।

आफूहरुले बाटोमा रहेका पोष्टहरुमा २ सयदेखि ५ सय रुपैया बुझाउँदै आएको र भन्सार नाकाबाटै बढी सामान ओराल्ने व्यवस्था भए आफूहरुले दुःख नपाउने भारतीय ट्रकका चालकहरु बताउँछन् ।

पछिल्लो समय भारतीय नम्बर प्लेटका सवारीले नै नियमविपरित क्षमताभन्दा बढी भार बोक्दा नेपालका सडक, पुलहरु चाँडै बिग्रिने गरेको नारायाणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।

त्यस्तै उनले केहि बर्ष पहिले कोशी ब्यारेज बिग्रिदा भारत हुँदै गएका नेपाली ट्रकले ४ सय किलो बढी बोक्दा पटना अदालतमा भारतीय प्रहरीले मुद्दा लगाएको स्मरण गरेका छन् ।

उनका अनुसार नेपालको कानून बमोजिम भन्सार नाकाबाट नै भारमिलान गरेर प्रवेश गर्न दिएमा यस्तो समस्या आधा कम हुने बताएका छन् ।

LIVE TV