
- बाल विक्रम कार्की,
रौतहट, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रभु साहले भ्रष्टाचार विरोधी आन्दोलनलाई कुनैपनि अवस्थामा जारी राख्ने बताउनुभएको छ ।
मंगलबार रौतहटको मौलापुरको लक्ष्मीनीया माविमा आयोजित एक कार्यक्रममा बोल्दै नेता साहले जस्तोसुकै परिस्थिति र दबाब आएपनि भ्रष्टाचार विरोधी अभियान नरोकिने ठोकुवा गर्दै भ्रष्टाचारमुक्त देश बनाएरै छाड्ने बताउनुभएको हो ।
त्यस्तै उहाँले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयासलाई विफल पार्ने र भ्रष्टाचारमुक्त समाज निर्माणमा सदैब लागिरहने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
उहाँले भ्रष्टाचारनै देश विकासका मुख्य बाधक भएको जिकिर पनि गर्नुभयो । त्यस्तै उहाँले देशमा राजनीतिक परिवर्तनसँगै विकासले गति लिने जनताको आशा बिस्तारै निराशामा परिणत हुँदै गरेको गुनासो पनि गर्नुभयो ।
‘मुलुकमा राजनीतिक परिवर्तन भएपछि तीब्र गतिको बिकास देख्न पाइन्छ भन्ने जनताको आशा थियो’ उहाँले भन्नुभयो, ‘तर, जनताले सोचे अनुरुप देशले बिकासको गति लिन सकेको छैन् । यसको प्रमुख कारण भ्रष्टाचार नै हो ।’
उहाँले आफूहरु स्थानीय तहदेखि संघसम्म व्याप्त भ्रष्टाचार अन्त्य गर्न संघर्षरत रहेको दाबी गर्दैै आफूहरुले सुरु गरेको भ्रष्टाचार विरोधी आन्दोलनमा केही तत्वहरुले निरन्तर बाधा उत्पन्न गरिरहेको जिकिर पनि गर्नुभयो ।
नेता साहले भ्रष्टाचार अन्त्य गर्न सबै देशबासी एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । ‘हामी देशबाट कुनैपनि हालतमा भ्रष्टाचार हटाएरै छौड्छौं’ उहाँले भन्नुभयो, ‘हाम्रो यस सङ्कल्पमा सम्पूर्ण देशबासी एकजुट भएर लाग्नुपर्छ । अनि मात्र भ्रष्टाचार अन्त्य हुन्छ ।’
यसै अवसरमा नेता साहले विद्यालयको प्रशासनिक भवन र आठ कोठे शैक्षिक भवनको शिलान्यास पनि गर्नुभएको थियो ।