१३ फाल्गुन २०७६, मंगलवार

काठमाडाैँ, १३ फागुन । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित यस वर्षकाे ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ भोजराज पोखरेललाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पूर्व-प्रमुख निर्वाचन आयुक्त पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गर्नुभएको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको बताइएकाे हो ।

पुरस्कार चैत १ गते शान्ति समाजद्वारा काठमाडाैँमा आयोजना गरिने एक विशेष कार्यक्रममा प्रदान गरिनेछ । पुरस्कार राशी रु. १ लाख १० हजार र सम्मानपत्र रहेकाे छ ।

काे हुनुहुन्छ पाेखरेल ?

वि.सं. २०१० साल जेठ २ गते खोटाङ जिल्लाको ऐँसेलुखर्कमा जन्मिनुभएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैगरी तीन दशकभन्दा लामो सरकारी सेवाका दौरान विभिन्न मन्त्रालयको सचिवको दायित्व समेत उहाँले वहन गर्नुभएको छ ।

सन् २००८ मा बंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०/११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा संयुक्त राष्ट्रसंघका महासचिवले पोखरेललाई दुईपटक उच्च स्तरीय प्यानलमा नियुक्त गर्नुभएकाे थियो ।

युनाइटेड स्टेट्स इन्स्टीच्युट अफ पिस वासिङ्टन डिसिको सिनियर फेलो र हार्वड केनेडी स्कुलको म्यासन फेलो रहनुभएका पाेखरेल सन् २०१५ मा म्याङमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह-अध्यक्ष हुनुहुन्थ्यो ।

हाल उहाँ कोफी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समुहको सदस्य हुनुहुन्छ ।

LIVE TV