१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव पनि यती होल्डिङ्सका कारण विवादमा परेको छ। यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्नै निजी हेलिकोप्टर एयर अल्टिच्युडमार्फत आइतबार नेपालको नक्सास्वरुपमा तयार पारिएको १५ किलोको केक प्रधानमन्त्री ओली जन्मिएको घर तेह्रथुमको आठराई पु-याएका थिए।

आठराईमा ओलीको ६९औं जन्मदिनको अवसर पारेर नेपालको नक्सास्वरुपको केक काटिएपछि अहिले सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भएको छ। नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा भाडामा लिएको र अन्य सरकारी जग्गामा पनि हालीमुहाली गरेको भन्दै विवादमा तानिएको यतीले केकको व्यवस्थापन गरेपछि ओली थप विवादमा परेका छन्। कम्युनिस्ट पृष्ठभूमिका प्रधानमन्त्री ओलीले राजसी ठाँटमा हजारौंको उपस्थितिमा जन्मोत्सव मनाएपछि उनको आलोचना भएको हो।

हेलिकोप्टरबाट यती ग्रुपका अध्यक्ष शेर्पासँगै नेपाल ट्रस्ट सञ्चालक समितिका सदस्यद्वय सीताराम सापकोटा र याङजोम शेर्पा पनि आठराई पुगेका थिए (हेर्नुस् फोटो)। अल्टिच्युड एयरका मार्केटिङ प्रमुख सापकोटा र यतीसँगै स्वार्थ जोडिएकी याङजोमलाई ट्रस्टको सञ्चालक सदस्य बनाइएको आरोप लागिरहका बेला यो घटनाले त्यसको थप पुष्टि गरेको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

LIVE TV