१२ फाल्गुन २०७६, सोमबार

काठमाडौं, १२ फागुन । बालगृह असुरक्षित बन्दै गएको एक तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा पछिल्लो पटक भएका दुई घटनाले पनि बालगृह असुरक्षित रहेको पुष्टि गर्छ । सरकारले पनि बालगृहको नियमित अनुगमन गर्न सकेको छैन । बालगृहलाई कतिपयले कमाउने माध्याम बनाएका छन् ।

आर्थिक वर्ष २०७५\७६ मा ४६ जिल्लामा ५ सय ३३ वटा बालगृह अनुमति लिएरै सञ्चालनमा छन् । ती बालगृहहरुमा कूल १४ हजार ८ सय ६४ बालबालिका रहेका छन् । ती सबै सुरक्षित छन् ? प्रश्न उठ्न थालेको छ ।

केही घटनाहरुले बालगृहमा बालबालिका असुरक्षित बन्दै गएको तथ्य बाहिर आएको छ । माघ २४ गते ललितपुरको भैंसेपाटीमा श्रीपुनस्थापना चिलड्रेनहोममा यातना सहन नसकेर ७ जना बालबालिका भागेका थिए ।

यस्तै, फाल्गुन ११ गते चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ मा रहेको न्यू नेपाल कम्युनिटी सर्भिस नामक संस्था बाट ७ जना बालिकाहरुको उद्दार गरियो । यसरी बालबालिका पीडित हुँदा नियमक निकायले चासो देखाएको पाइदैन ।

बालगृहकै लागि ९२ करोड ६४ लाख ७९ हजार रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको समाजकल्याण परिषद्ले जनाएको छ ।

यही सहायता पाउनकै लागि बालबालिका राखेर बालगृह सञ्चालन गर्ने ‘धन्दा’ चलाउनेहरु सक्रिय बनेको आलोचना हुन थालेको छ । तर, नियमित अनुगमन गरिएको परिषद् दाबी गर्छ ।

नेपालमा बालबालिकाको लागि भनेर विदेश बाट ठुलो रकम भित्रिने गर्छ, तर कतिपयले यसलाई कमाउने माध्याम बनाएको सर्वसाधारणको भनाई छ ।

समाज कल्याण परिषद्ले दाबी गरेपनि अनुगमन नभएको काठमाडौं र ललितपुरकै दुईवटा घटनाले पुष्टि गरेको छ ।

LIVE TV