१२ फाल्गुन २०७६, सोमबार

काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस’ सङ्क्रमणबाट जोगिन सुरक्षामा सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली संघसंस्थालाई आपसी आवश्यक समन्वय गर्न अपिल गर्नुभएको हो । उहाँले नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो अवस्थामा एकताबद्ध ढंगले आवश्यक समन्वय गरी नेपालीहरुको सुरक्षामा उच्च सर्तकताका अपनाउन अपिल गर्नुभएको हो ।

सोमबार नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई पत्र पठाएर उहाँले एकताबद्ध ढङ्गले समन्वय सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका साथ आपसी भाइचारा अभिवृद्धि गर्न अनुरोध गर्नुभएको हो ।

केही दिनयता दक्षिण कोरियामा कोरोना भाइरसबाट सयौँ सङ्क्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चार माध्यममार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीको सुरक्षा संंवेदनशीलताप्रति आफ्नो चासो बढेको छ, सभापति देउवाले पत्रमा लेख्नुभएको छ ।

नेपाल सरकार र नेपाली दूतावासमार्फत हुनसक्ने आवश्यक सजगताबारे हामी घच्घच्याइ रहेका छौँ, सभापति देउवाले पत्रमा उल्लेख गर्नुभएको छ । विशेष गरी सङ्क्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवम् श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका अपनाउन सभापति देउवाले सबैलाई अनुरोध छ ।

LIVE TV