
- रोशन दानी
काठमाडौं, १२ फागुन । प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्वीर भएकाले उसको खानपिन,व्यक्तित्व,बोलीचाली,र व्यवहार परिवर्तन गर्नुपर्ने बताउनु भएको छ ।

उपत्यकामा सञ्चालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत सोमबार महानगरीय प्रहरी वृत्त सातदोबाटोमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ गर्दै पोखरेलले प्रहरी जनताको सुखदुःखको सारथी भएको र सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्वीर भएकाले संवेदनशील हुन निर्देशन दिनु भएको हो ।

डिआईजी पोखरेले प्रहरीमा आउने हरेक किसिमका नागरिकहरुको भावनाको कदर गर्न प्रहरी सक्षम हुनुपर्ने र राज्यको अभिन्न अंग प्रहरी भएको बताउँदै उच्च मनोबलसाथ कानून कार्यान्वयनमा कठोर बन्न समेत निर्देशन दिनुभयो । समुदायसंग प्रत्यक्ष रहेर जनता र प्रहरी मिलेरै समाजका सबैखाले अपराध र विकृति÷विसंगति अन्त्य गर्न सकिने उहाँको भनाइ थियो ।

ठूलो संख्यामा रहेका जवान र हवल्दार र चौबीसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीहरूबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको डिआईजी पोखरेलले बताउनुभयो ।

यस अघि प्रहरी कर्मचारीहरूको लागि सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरी ३ तहको मेश सञ्चालन हुँदै आएको थियो । यसरी सञ्चालनमा आएको मेश प्रणालीबाट तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको तथ्यलाई आत्मसाथ गरी सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेश निर्माण र सुधार अभियान शुभारम्भ गरिएको डिआइजी पोखरेलको भनाइ थियो ।

प्रहरी बस्ने व्यारेक,पानी ट्वाइलेट लगायत धेरै समस्याहरू रहेकाले सरकारले गरिदेला भन्ने भन्दा पनि मेरो भूमिका वा हाम्रो भूमिका कहाँ छ, अन्य भन्दा विषेश कसरी देखिन्छु भने भावाना राख्छ उसले परिवर्तन ल्याउने भएकाले समस्याहरू एक एक गरी समाधान गर्ने र त्यसैको पहिलो कडी मेश सुधार अभियान चलाईएको पनि उहाँको भनाइ थियो ।

समान रासन र समान पोशाक निर्दिष्ट प्रहरी कर्मचारीको मेशमा समेत समानता आउनुपर्ने लक्ष्य सहित थालनी गरिएको यस अभियानको हालसम्मको उपलब्धि आफु निकै हर्षित भएको समेत डिआइजी पोखरेलले बताउनुभयो ।

कार्यक्रममा प्रहरी संयुक्त मेशको निर्माण र सुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी संयुक्त मेश निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गर्ने महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्मा सहित ४ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।