
पोखरा, १२ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका कारण केही विषय नपाएपछि गैरविषयलाई विषय बनाइएको बताउनुभएको छ ।

नेकपा गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढिरहेको तर यदाकदा विरोधका आवाजहरु आएको बताउनुभयो । उहाँले वर्तमान सरकार राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सकारात्मक रहेको उल्लेख गर्दै त्यसका लागि दृढ इच्छाशक्ति लिएर अघि बढेको बताउनुभयो ।
पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा स्पष्ट सैद्धान्तिक दृष्टिकोणका साथ हिँडिरहेको नेकपासँग राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा सफलता र असफलताका सबै आन्दोलनका अनुभव रहेकाले पार्टी जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको स्पष्ट पार्नुभयो ।
अहिले माक्र्सवाद नबुझेकाले मात्र कम्युनिष्टको विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले माक्र्सवादले मानवीय आकाङ्क्षालाई प्रतिबिम्बित गर्दै दार्शनिक बाटो दिने बताउनुभयो ।
विरोधका लागि विरोध गर्ने प्रवृत्तिका कारण केही विषय नपाएपछि गैरविषयलाई विषय बनाइएको बताउँदै उहाँले भन्नुभयो, “अहिले केही विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्ने विषय बनाएर हिँडेका छन् ।”
संसद्मा विधेयक छलफल गर्नुभन्दा पहिला माइतीघर मण्डला पुग्ने र जनतालाई भ्रम छर्दै सरकारलाई असफल बनाउने सक्रियता भइरहेको प्रधानमन्त्रीले बताउनुभयो । “हामी महान् उद्देश्यका साथ अगाडि बढेका छौँ, दूरगामी महत्व र असाधारण कामको थालनी भएको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताले महसुस गर्ने गरी काम गरेका छौँ, सस्तो लोकप्रियताका लागि यो सरकारले काम गर्दैन, यो देशमा परिवर्तनको सङ्कल्प र उत्तरदायित्व बोकेको सरकार हो ।”