१२ फाल्गुन २०७६, सोमबार
  • सुमन कार्की

पाल्पा, १२ फागुन । पाल्पा व्यापार संघको आयोजनामा दमकडामा जारी पाल्पा महोत्सव सकिएको छ । फागुन १ गतेदेखि ११ गतेसम्म संचालन भएको महोत्सव आइतबार सकिएको हो ।

महोत्सव समापन समारोहका प्रमुख अतिथि संघीय सांसद सोमप्रसाद पाण्डेयले महोत्सवले यस क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले पाल्पामा उत्पादित कृषिजन्य वस्तु र पर्यटकीय स्थलहरुको प्रचारमा महोत्सवले उल्लेखनीय सहयोग गरेको बताउनुभयो । उहाँले दमकडामा सम्पन्न महोत्सवले पाल्पासहित माडी क्षेत्रमा विकासको सम्भावनाको गोरेटो कोरेको बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याल, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादवसिंह कार्कीलगायतले आ–आफ्नो धारणा राख्नुभयो । समापन समारोह संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक चिरन्जीवि पोखरेको अध्यक्षता र सचिव पर्शुराम पौडेलेको संचालनमा सम्पन्न भएको थियो ।

महोत्सवको अन्तिम दिनसम्म १ लाख १० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । संघले राखेको लक्ष्यभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवी पोखरेलले जानकारी दिनुभयो । यस्तै महोत्सवमा अन्तिम दिनसम्म ४ करोड ५० लाख बढीको कारोबार भएको छ । आयोजकले राखेको लक्ष्यअनुसार कारोबार भएको संघका सचिव पर्शुराम पौडेलले बताउनुभयो ।

पाल्पाको स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । पाल्पाको कृषि, पर्यटन, साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गर्न सहज होस् भनेर महोत्सव आयोजना गरेकाे अध्यक्ष पोखरेलले बताउनुभयाे ।

महोत्सवमा दश स्थानीय तहबाट प्रतिनिधित्व गर्ने कृषि र पर्यटनका स्टलको सहभागिता रहेको थियो । महोत्सवमा कृषि ज्ञान केन्द्र- पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय- पाल्पा, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, दमकडाको महिला समूह, उखुको खुदो, फलामबाट बनाइएका कृषि औजारका स्टल, उनजन्य बस्तुबाट बनेका टोपी, स्वीटर, मफलर, मौरीको गोला सहितको स्टल आकर्षक बनेको थियो ।

यस्तै निस्दी गाउँपालिकास्थित काउलेडाँडाको अम्रिसोबाट बनेका कुचो, रिब्दीकोट गाउँपालिकाको पर्यटन सम्बन्धी जानकारी दिने डिस्प्ले बोर्ड, दमकडा नमूना मावि र रिभर भ्याली माविका विद्यार्थीले तयार गरेको भविष्यको माडी उपत्यकाको नमूना समेत आकर्षक बनेको स्टल संयोजक कमल ढकालले जानकारी दिनुभयो । महोत्सवमा बाल उद्यान, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका स्टलहरू, होटल तथा रेष्टुरेन्टको समेत स्टल रहेका थिए ।

महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, विभिन्न संघ-संस्थाबाट ल्याइएका लोपोन्मुख नाच तथा गीत प्रस्तुत गरिएको थियो । पाल्पाका सबै क्षेत्रका स्टल र सबै क्षेत्रका लोपोन्मुख सांस्कृतिक प्रस्तुतीले महोत्सवमा सबैको अपनत्व बढेको सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले बताउनुभयो । महोत्सवमा ख्यातिप्राप्त कलाकारहरूले समेत प्रस्तुति राख्नुभएको थियो । महोत्सवमा पाल्पाका दश स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले स्थानीय तहले गरेका राम्रा कामको बारेका जानकारी दिनुभएको थियो ।

LIVE TV