११ फाल्गुन २०७६, आईतवार

काठमाडौं, ११ फागुन । सरकारले चालू आर्थिक वर्षदेखि पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

सरकारको पछिल्लो नीतिको विरोध सडकसम्म आइपुगेको छ । स्वदेशमै पुस्तक मुद्रणलाई प्रोत्साहन गर्न नीति ल्याएको दाबी रहेपनि पुस्तक विक्रेता र प्रकाशकहरु नै सन्तुष्ट छैनन् ।

विदेशबाट आयात हुने पुस्तकमा भन्सार शुल्क लगाउने सरकारको निर्णय विरुद्ध विद्यार्थीहरु उत्रिएका हुन् । पुस्तक मुद्रण गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न नीति ल्याइएको भनिएपनि पुस्तक विक्रेता तथा प्रकाशक संघ नै यसको विरोधमा छन् ।

नेपालका अधिकांश विश्वविद्यालयहरुमा पढाइ हुने पाठ्यपुस्तक विदेशी मुद्रण उद्योगहरुको पढाइ हुने गरेको छ र ती पुस्तकहरु अहिले यस नीतिका कारण बजारमा पाइन छोडेको छ । यसको प्रत्यक्ष मार विद्यार्थीले भोग्नुपरेको छ । यता, प्रकाशकहरुले अन्तराष्ट्रिय क्षेत्रमा समेत पुस्तक आयात निर्यात, बिक्रिवितरणमा कुनै किसिमको शुल्क नलाग्ने बताउँदै आएका छन् ।

उनीहरुले ज्ञानमाथि नै अंकुश लगाउन खोजिएको आरोप लगाएका छन् । यता, लेखकहरु पनि पुस्तकमा भन्सार महशुल लगाउन नहुने बताउँछन् । लेखकहरुले भन्सार शुल्कको साटो स्वदेशी प्रकाशकहरुलाई प्रोत्साहित गर्न अरु उपाय अपनाउन सुझाव दिएका छन् ।

सरकारको भन्सार नीति विरुद्ध विद्यार्थीहरु अहिले सांकेतिक विरोधमा उत्रिएका छन् । विभिन्न ठाउँमा पुस्तक पढेर उनीहरुले विरोध जनाएका छन् । नेपालका विश्वविद्यालयमा पढाइ हुने अधिकांश पाठ्यपुस्तक विदेशमा छपाइ हुने भएकाले विद्यार्थीलाई महँगो पर्न जाने र भन्सार महशुलका कारण पाठ्यक्रमकै पुस्तक समेत पाइन छोडेको र किन्न सक्ने अवस्था नरहेको विद्यार्थी बताउँछन् ।

विदेशमा छापिने नेपाली पुस्तकले भने पहिलेदेखि नै १३ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत ढुवानी बापत राजस्व र २ प्रतिशत सार्वजनिक दायित्व तिरेर पुस्तक आयात गरिरहेको छ । भन्सार शुल्ककै कारण यसवर्ष पर्याप्त पुस्तक आयात हुन सकेको छैन ।

LIVE TV