११ फाल्गुन २०७६, आईतवार
  • एलिना घिसिङ

काठमाडौं, ११ फागुन । पछिल्लो समय माबाइलले स–सना नानीदेखि वृद्ध – वृद्धाहरुसम्मलाई आफ्नो प्रभावमा लपेटेको छ । अहिले सबैको हात – हातमा मोबाइल देख्न सकिन्छ । उक्त मोबाइल पहिलाको जस्तो कहाँ होर हाइ हल्लो मात्र गर्न मिल्ने । अहिले त डिजिटल प्रविधिको जमाना छ । आफूलाई मन पर्ने फोटो, भिडियो र गेमलगायतका थुप्रै किसिमका एपहरु त्यसमाथि इन्टरनेट जोडिएको हुन्छ । त्यसपछि त जो कोहीले पनि एउटा कुनामा बसेर सहजै विश्व नियाल्न सक्छ ।

यो डिजिटल युगले मानवलाई धेरै फाइदासंगै बेफाइदा पनि पु¥याएको उदाहरणहरु हामीसंग थुप्रै छन् । सही तरिकाले प्रयोग गर्न जानियो भने त्यसले हामीलाई धेरै फाइदा दिन्छ । तर प्रयोग गलत भयो भने मानव जीवनलाई तहसनहस बनाउन पनि पछि हट्दैन ।

भिडियो, फोटोहरु सबै एकदम राम्रो क्वालिटीमा आउने खालको मोबाइल किन्न जति महंगो परे पनि पछि हट्दैनन् मानिसहरु । देशका कुनाकाप्चासम्म पनि पुगिसक्यो महंगो मोबाइल तर केही असहज भने अझै छ । गाउँमा महंगो मोबाइलमा फोटो लिन र भिडियो बनाउन भने प्रयोग हुन्छ । तर नेटवर्कको अगाडि भने जतिसुकै महंगो फोन भए पनि काम नगर्ने तथ्य सत्य सावित भइसकेको छ ।

बच्चाहरुदेखि ठूलो सम्मलाई भुलाउने बाटो नै बनेको छ मोबाइल । त्यसैले गर्दा पनि आजकल त धेरै जसो मोबाइल बालबालिकाहरुको हातमा हुन्छ । मोबाइल भएपछि उनीहरुलाई अरु केही चाहिदैन तर हामी अभिभावकले भने मोबाइल दिँदा किन र केका लागि दिने भन्ने कुराको निकै ख्याल राख्न आवश्यक छ । हामीले बच्चाहरुलाई मोबाइल दिँदा बुद्धि पु¥याएमा त्यसबाट उनीहरुले अभिभावकहरुले भन्दा धेरै ज्ञानवद्र्धक कुराहरु सिक्छन् ।

इन्टरनेट, मोबाइल र उपकरणको सही सञ्चालन र उपयोगबारे आमाहरु बढी जानकार हुन जरुरी रहेको विज्ञहरु बताउँछन् । हाम्रो जस्तो समाजमा प्रायजसो बच्चाहरु आमाको निकटमा हुन्छन् । त्यसैले पनि आमा ती कुराहरु जानकार हुन जरुरी छ । यदि आमा डिजिटल प्रविधिबारेमा अनभिज्ञ भएमा बालबालिकाको विकासमा बाधा पुग्न सक्ने विज्ञहरूको भनाइ छ ।

विज्ञहरूका अनुसार बालबालिकाले अधिकांश समय इन्टरनेटमा बिताए भन्ने दुःखेसो गर्ने अभिभावकको संख्या बढिरहेकोले यस विषयमा छलफलहरू चलाउनु पर्ने भएको छ । आमाले इन्टरनेट चलाउन रोक लगाउनु नभई केका लागि चलाउने र कति समय चलाउने भन्ने सिकाउन एकदमै उपयुक्त हुने निष्कर्ष विज्ञहरुको छ ।

बालबालिकालाई घरबाट बाहिर नपठाउने साधन नै बनेको छ मोबाइल र विद्युतीय उपकरण । उनीहरु व्यस्त हुन्छन् ती साधनहरुमा । प्रविधिको पहुँचले विश्व एउटा गाउँमा परिणत हुँदै गर्दा नेपालीहरु पनि यस्मा अभ्यस्त हुन जरुरी छ तर अति नभइ सही रुपमा । त्यसैले पनि बालबालिकाले प्रविधिप्रति देखाएको रुचीलाई सकारात्मक मार्गतर्फ लान भने ध्यान पु¥याउनु पर्छ ।

LIVE TV