११ फाल्गुन २०७६, आईतवार

काठमाडौँ, ११ फागुन । विशेष अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाका आधारमा ३४ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ ।

आयोगले एक सय ७५ जनालाई प्रतिवादी बनाएकोमा ३४ जना प्रतिवादीलाई उपस्थित हुन भनिएको हो । १५ दिने म्याद जारी गरिएका ३४ जना मध्ये २४ जना कैद सजायँ र जरिवाना माग दाबी गरिएका प्रतिवादी छन् । अरु दश जना भने सरकारलाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएका परेका छन् ।

बालुवाटारस्थित ललिता निवासको एक सय १२ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छेदारसहित एक सय ७५ जनाविरुद्ध अख्तियारले गत माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले मुद्दा दायर गरेकाहरूको सूचीमा रहेका तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री गच्छेदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र मन्त्री चन्द्रदेव जोशीका नाममा दोस्रो चरणमा म्याद जारी गर्ने विशेष अदालतको तयारी छ ।

यस्तै अख्तियारले पूर्वसचिवत्रय दीप बस्न्यात, छवीराज पन्त र दिनेशहरि अधिकारीसहित एक सय १० जनालाई कैद सजायँ र बिगो माग दाबी गरेको छ भने ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा हालेको छ ।

LIVE TV