११ फाल्गुन २०७६, आईतवार

काठमाडौँ, ११ फागुन । कोरियामा रहेका नेपालीहरूमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नरहेको तर संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो । विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ ।

चीनको हुवे प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा पनि देखापरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्ममा यहाँका चार सय बढी मानिस संक्रमित बनेका छन् । संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ । दूतावासका अनुसार कोरोनाको संक्रमण फैलिएको देगु सहरमा करिब १२ सय ५० नेपालीहरु रहेका छन् । केही नेपाली स्वदेश फर्कन चाहेको बताएका छन् ।

दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई भरसक कोठाबाहिर ननिस्कन भनेको छ । साथै सरसफाइमा ध्यान दिन र खानेकुराको परहेज राख्न आग्रह गरेको छ । त्यहाँका कम्पनीहरुले कामदारको ज्वरो नियमित रुपमा नाप्ने र तापक्रम बढेको देखिए दुई साता घरमै बस्न छुट्टी दिने गरेका छन् । देगु सहरमा चहलपहल घटेको छ । बाटोमा, रेष्टुराँमा, सपिङ मलमा मानिसहरुको चहलपहल निकै कम भएको त्यहाँ रहेका नेपालीले बताएका छन् ।

कोरियाभर करिब ४० हजार कामदार, २५ सयजति विद्यार्थी र एक हजारको हाराहारीमा अन्य कामको सिलसिलामा नेपालीहरु रहेका छन् ।

LIVE TV