१० फाल्गुन २०७६, शनिबार

उदयपुर, १० फागुन । उदयपुरको कटारी नगरपालिकाका ११ वटा विद्यालयका ११ जना शिक्षकले २० महिनादेखि तलब नै पाएका छैनन् ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय अनुदानबाट तलब पाइरहेका शिक्षकहरु स्थानीय निकायले नै शिक्षा क्षेत्रसमेत हेर्ने जिम्मेवारी पाएपछि तलब विहीन भएका हुन् ।

२० महिनादेखि तलब नपाएपछि विद्यालय सञ्चालनमा मात्रै होइन, शिक्षकको जिविको पार्जनमै समस्या परेको छ ।

शिक्षकहरुका अनुसार जिल्ला शिक्षा इकाईले नगरपालिकालाई र नगरपालिकाले वडालाई तलब दिने निकाय देखाउदै आएको छ । तर, वडामा भने उक्त शीर्षकमा बजेट नभएको कारण शिक्षकहरु तलब विहीन हुनुपरेको हो ।

११ विद्यालयका ११ जना शिक्षकहरुले दरबन्दी सो सरहको तलबको माग गरिरहेका छन् ।

पटक–पटक नगरपालिकामा लिखित निवेदन दिएपनि तलब नपाएपछि विद्यालयको परीक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा आइपुगेको बताउँदै शिक्षकहरु अभिभावकहरुलाई समेत लिएर आन्दोलनमा उत्रने तयारीमा छन् ।

उनीहरुका बिषयमा कटारी नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक चन्द्रदीप पौडेलले आगामी परिषदमा छलफल गर्ने बताए ।

LIVE TV