१० फाल्गुन २०७६, शनिबार

काठमाडौं, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै प्रशंसा पाएका निवर्तमान मन्त्री गोकुलप्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरण आएपछि यो सरकारको चरित्र के हो ? भन्ने कुरा प्रष्ट भएको टिप्पणी गर्नु भएको छ ।

त्यत्रो समर्थन पाएका सञ्चारमन्त्रीबाट जुन किसिमबाट नेपाली जनताको स्रोत र साधनमाथिको खुलेआम लुट गर्ने प्रयास बाहिर आएपछि यस्तो सरकारबाट के आशा गर्न सकिन्छ ? भन्ने प्रश्न आम नेपाली जनतामाझ टड्कारो रुपमा उठेको पनि उहाँको भनाइ छ ।

अध्यक्ष लोहनीले कमिशनको यो अडियो प्रकरणभन्दा अघि पनि यति काण्ड, सुन काण्ड, एनसेल काण्ड, न्यारोबडी काण्ड, वाईडबडी काण्डलगायतका सबै काण्ड सञ्चार माध्यमले बाहिर ल्याएको चर्चा गर्दै त्यसलाई एउटा निचोडमा लैजाने कुरामा यो सरकार तयार नदेखिएको आरोप लगाउनुभयो ।

उहाँले बाँस्कोटाको ७० करोड कमिशनको टेप प्रकरण सुन्दा अझै एक अर्ब बढाईदेउन भनेर सुनिएको पनि बताउदै अगाडि भन्नुभयो,‘एक अर्ब भनेको त केही पनि होईन, नेपालीहरुको आर्थिक अवस्था कस्तो छ ? त्यसको कुनै मतलब छैन् । एक अर्ब बढाईदेउ अथवा अहिले हेर्दाखेरि त २७ ÷ २८ अर्बको पनि कुरा आयो ।’

लोहनीले हिजो सामन्ती व्यवस्थामा जसरी शोषण गरिएको थियो अहिले प्रजातन्त्रको वैधानिकता लिएर शोषण गरिएको टिप्पणी गर्दै भन्नुभयो,‘अहिले त नेपालमा नवसामन्तवादको नयाँ अध्याय नै सुरु भएको छ । यसमा प्रश्न उठेको छ बाँस्कोटामात्रै हो कि या त्योभन्दा माथि पनि अरु कोही थिए ? किनभने एउटा खबर के आएको छ भने जसले यो कुरा पर्दाफास गरे, मिश्र भन्ने व्यक्तिले उनले यो टेप लगेर प्रधानमन्त्रीलाई नै दिएका थिए, त्यो पनि दुई महिना अगाडि, त्यो टेप सुनिसकेपछि त्यही व्यक्तिलाई नेपालको सबभन्दा शसक्त राजनीतिज्ञ भनेर प्रशंसा गर्नु र अहिले यो भ्रष्टाचारको कुरा बाहिर आउनुबाट प्रधानमन्त्रीलाई यसमा कति थाहा थियो या थिएन ? भन्ने कुरा अब ठूलो प्रश्नको रुपमा आएको छ ।’

उहाँले यो प्रकरणमा अब हुने छानबिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोल्नुपर्ने माग पनि गर्नुभयो । अध्यक्ष लोहनीले वर्तमान सरकारले यो दुई वर्षमा ल्याएको बजेट नै असफल भएको दाबी गर्दै भन्नुभयो,‘यो दुई वर्षमा हरेक पटक संसदमा बजेट पेश हुन्छ । त्यसको ६ महिनामा फेरि हामीले काम गर्न सकेनौं भनेर संशोधन हुन्छ । यसको विशेषता भनेको संसदमा ठूला ठूला कुरा गर्ने, बजेटका ठूला ठूला आकार राख्ने, अनि ६ महिनामा गएर हामीले त गर्न सकेनौं भन्ने अनि संशोधन गर्ने ।

बास्तवमा यो दुई वर्षमा बजेट फेल भएको छ ।’ सरकारले एक वर्षसम्मपनि भनेको कुरा पुर्याउन नसकेको उहाँको आरोप छ । एमसीसी सम्झौताबारे राष्ट्रिय छलफल हुनुपर्ने माग पनि अध्यक्ष लोहनीको छ ।

LIVE TV