डायस्पोरालाई कांग्रेसले बेवास्ता गर्नु पार्टीकै लागि घातक



प्रकाशित मिति : Feb 22, 2020
  • गङ्गाधर गौतम

नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । १३ औं महाधिवेशनमा पार्टीका ५ लाख सक्रिय सदस्य रहेका थिए भने आगामी महाधिवेशनमा ७ लाख ५० हजार सक्रिय सदस्य हुने पार्टीको अपेक्षा छ । देशभित्र ७७ जिल्लाका अतिरिक्त विश्वभर छरिएका ३७ देशमा नेपाली जनसम्पर्क समितिमार्फत पार्टीको सञ्जाल जोडिएको छ ।

विदेशमा रहेका ८० लाख नेपालीहरूलाई नेपाली जनसम्पर्क समितिको छाता मार्फत लोकतान्त्रवादीहरूलाई आबद्ध गरिएको छ । तत्कालीन नेपाली कांग्रेसका सभापति वीपी कोइरालाले भारतको मुम्बईबाट १९७६ मा विदेशमा बस्ने नेपालीहरूलाई देशसँग जोड्न नेपाली जनसम्पर्क समितिको परिकल्पना गरेका थिए । २०४६ सालको जनआन्दोलन पनि नेपाली कांग्रेसकै सरकारले ल्याएको उदार नीतिका कारण नेपालीहरूको विश्व श्रम बजारमा पहुँच पुगेको हो ।

नेपाली कांग्रेसका हजारौं कार्यकर्ता नेपालमा भएको तत्कालीन सशस्त्र युद्धका कारण विदेशमा विस्थापित भए । तर देश छोडे पनि आफ्नो आस्थाको केन्द्रविन्दुमा रहेको नेपाली कांग्रेस छोड्न सकेनन् र जनसम्पर्क समितिमार्फत पार्टीमा सक्रिय रहेका छन् । उनीहरूले देशमा नेपाली कांग्रेसको उज्वल भविष्य हेर्न चाहेका छन् । पार्टी बलियो होस् भन्ने चाहना राख्छन् । विदेशको बसाइकै क्रममा हजारौं नेपालीहरूले बाध्यता वा स्वइच्छाले विदेशी नागरिकता प्राप्त गरेका छन् ।

नागरिकताको सन्दर्भ : दसौं हजार सक्रिय सदस्य बाहिरै

हजारौंको संख्यामा नेपालीहरूले विदेशी नागरिकता लिएपछि उनीहरूलाई पनि राष्ट्र निर्माणमा जोड्न नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको परिकल्पना गरेको छ । तर नेपालीहरूलाई विश्व श्रम बजारमा ढोका खोल्ने पार्टी नेपाली कांग्रेसको विधानले गैरआवासीय नेपालीको नागरिकतालाई अस्वीकार गरेको देखिन्छ ।

नेपाली कांग्रेस सोसलिस्ट इन्टरनेश्नलको समेत सदस्य हो । पार्टीका सभापति शेर बहादुर देउवा आफै सोसलिस्ट इन्टरनेसनलको उपाध्यक्ष भएको नाताले विदेशमा रहेका जाहे गैरआवासीय नेपाली हुन् वा विदेशी नागरिक, सबैलाई समेटर लैजानु उहाँको कर्तव्य हो । त्यसैले विदेशी नागरिकता लिएको भन्दै आफ्ना कार्यकर्तालाई सक्रिय सदस्यताबाट वन्चित गर्नु पूर्णरुपमा अन्यायपूर्ण हो । यसबारे पार्टीले छिट्टै न्यायको बाटो खोल्नुपर्छ ।

कांग्रेसले पार्टीको सक्रिय सदस्यता प्राप्त गर्न विदेशमा भए पनि अनिवार्य नेपाली नागरिकता हुनुपर्ने अनुदार व्यवस्था गरेको छ । त्यसले विदेशमा बस्ने लोकतन्त्रवादी नेपाली पार्टी सञ्जालबाट बाहिरिने निश्चित छ । पार्टीको पछिल्लो नियमावली र केन्द्रीय परिपत्रले गत १३ औं महाधिवेशनमा भाग लिएका झण्डै १५ हजार सक्रिय सदस्यमध्ये अब १–२ हजार मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउने भएका छन् । यो व्यवस्थाले दसौं हजार सक्रिय सदस्यहरू पार्टी पहुँचभन्दा बाहिर रहनेछन् ।

नियमावली संशोधन

नेपाली जनसम्पर्क समितिका सन्दर्भमा आएको पछिल्लो नियमावली संशोधनविना विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्न असम्भव नै रहेको छ ।

नेपाली कांग्रेसका हजारौं कार्यकर्ता र दशौं हजार सदस्यहरू सो पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्न र नयाँ लिनबाट वञ्चित छन् । यसको हल गर्न नेपाली कांग्रेसको नियमावली संशोधनबाहेक अन्य कुनै विकल्प छैन ।

नेपालमा रहँदा होस् वा प्रवासमा रहँदा होस्, लोकतन्त्र र नेपाली कांग्रेसको लागि अमुल्य योगदान गरेको समुह अहिले डायस्पोरामा छ । विगतमा भएका महाधिवेशनमा पार्टीले ठूलो आर्थिक लाभसमेत प्राप्त गर्दै आएको छ ।

नेपाली कांग्रेसको १३ आंै महाधिवेशनको निर्वाचन परिणाम र प्रवास शाखाबाट प्राप्त मतको आधार तय गरेर आगामी १४ औं महाधिवेशनलाई मुख्य केन्द्रबिन्दु बनाएर अघि सारिएको पार्टी नियमावली खारेजी हुनुपर्ने अधिकांश सदस्यहरूको चाहना छ ।

पछिल्लो निर्णयले पहिलो पुस्ता मात्र होइन, नयाँ पुस्तालाई पार्टीको मूलधारबाट बाहिर पार्ने छ । पार्टीले गैरआवासीय नेपाली संघको एक पल्टको नेपाली सधैँको नेपाली भन्ने मुल मर्मलाई अंगिकार गरेको देखिँदैन ।

जनसम्पर्क समितिको भविष्य

आजको डायस्पोरालाई मात्र नहेरेर अबका दश वर्षपछि हाम्रा सन्ततिहरूलाई (दोस्रो पुस्ता) नेपालसँग कसरी जोड्ने भन्ने चिन्ता र चासो अहिले उठेको छ । एक दशकपछि पार्टीले तय गरेको हालको मापदण्ड पूरा गरेर विदेशमा नेपाली जनसम्पर्क समितिको अस्तित्व रहला या नरहला, यसै भन्न सकिन्न ।

नेपाली कांग्रेसले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले विधानमा भएका केही धाराहरूलाई आगामी महाधिवेशनमा छलफल गर्ने गरी निलम्बन गरेको छ । जनसम्पर्क समितिहरूलाई महाधिवेशनमा स्वाभाविक रुपमा सहभागिताको ग्यारेन्टी नगरिएसम्म कांग्रेस महाधिवेशनकै औचित्यमाथि प्रश्न उठ्न सक्छ ।

विदेशमा रहेका १५ हजार सक्रिय सदस्यलाई बाहिर राखेर गरिने महाधिवेशनले कांग्रेसले कांग्रेसलाई जोड्न सक्दैन । बरु पार्टी कार्यकर्ता पलायन हुने खतरा बढ्छ । फलस्वरुप डायस्पोरामा नेपाली कांग्रेसको सञ्जाल समाप्तै भएर जाने देखिन्छ । त्यसैले नेपालको संविधानको धारा १४ मा भएको गैरआवासीय नेपाली नागरिकताको अस्तित्वलाई पार्टीले स्वीकार गर्दै विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई पार्टीको मूलधारमा जोड्न ढिला गर्नु हुँदैन ।

(लेखक नेपाली जनसम्पर्क समिति बेल्जियका पूर्वसभापति हुनुहुन्छ)


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com