९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं, ०९ फागुन । हिमालयन भोटे समाज, बौद्ध-६ काठमाडौंले २१४७ च्या-फो झिव लो (मुसा वर्ग)को अवसरमा ‘प्रथम दर्चि (तीर) खेल प्रतियोगिता-२०७६’को आयोजना गरेको छ ।

‘भोटे जातीहरुको परम्परागत दर्चि खेलको संरक्षण गरौं, आफ्नो भाषा र भेषभुषाको सम्बद्र्धन तथा सम्मान गरौं’ भन्नु मुल नाराका साथ शुक्रबार काठमाडौंको कपनमा ‘दर्चि (तीर)खेल प्रतियोगिता’को सुभारम्भ गरिएको हो ।

यो प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने हिमालय भोटे समाजका अध्यक्ष जयबाउ भोटेले जानकारी दिनुभयो । यस प्रतियोगितामा संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाका १८ वटा गाउँका ६३ जना प्रतियोगीहरुले भाग लिएका छन् ।

यस दर्चि (तीर) खेलका विजेतालाई ३० हजार नगदसहित शिल्डले पुरस्कृत गरिनेछ । त्यस्तै उपविजेतालाई २० हजार नगदसहित शिल्डले पुरस्कृत गरिनेछ, भने खेलमा तेस्रो हुने प्रतियोगीलाई पनि नगद रु १५ हजार र शिल्डले पुरस्कृत गरिनेछ ।

अध्यक्ष जयबाउ भोटेका अनुसार खेलमा उत्कृष्ट स्कोर गर्ने १ जना र उत्कृष्ट निशाना लगाउने अर्को एक जनालाई जनही पाँच÷पाँच हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

दर्चि (तीर) खेल संखुवासभा जिल्लाका भोटे जातीहरुको परम्परागत खेल भएको बताउँदै अध्याक्ष जयबाउ भोटेले भन्नुभयो, ‘भोटे जातीहरुको परम्परागत दर्चि (तीर) खेलको संरक्षण गर्न, आफ्नो भाषा र भेषभुषाको सम्बद्र्धन तथा सम्मान गर्न यस प्रतियोगिताको आयोजना गरिएको हो ।’

संखुवासभाको भोटखोला क्षेत्र मुल थलो भएका भोटे जातीहरु जिल्लाको सदरमुकाम खाँदबारी, धरान, काठमाडौं र भारतको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

यो जातीको मुख्य पेसा भनेको कृषि हो । तर, पछिल्लो समय भोट खोला क्षेत्रका केही गाउँका भोटेहरु व्यापार व्यवसायमा पनि संलग्न हुन थालेका अध्यक्ष जयबाउ भोटेले जानकारी दिनुभयो ।

यसैबीच अध्यक्ष जयबाउ भोटेले आफूहरुलाई सरकारको तीनै तहले नहेरेको गुनासो गर्दै भन्नुभयो, ‘सरकारको कुनै पनि तहले भोटे जातीको संबोता लिपिसहितको भाषा संरक्षण गर्नका लागि कक्षा सञ्चालनमा ध्यान दिएको छैन ।’

LIVE TV