९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।

इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा शुक्रबार आयोजित ‘चौँथो इन्द्रदह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताउनुभएको हो ।

इतिहासको कदर र वीरताको योगदानको सम्मान हुनु पर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले काजी कालू पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । साहसी, दुरदर्शी र प्रेरणा दिन सक्ने व्यक्ति कालू पाँडे भएको उहाँको भनाइ थियो ।

उहाँले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्रदहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिनुभयो । महोत्सवसँगै दहचोकको स्वरुप फेरिन थालेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले चार वर्ष पहिले आउँदा र अहिले आउँदा निकै परिर्वतन भएको उल्लेख गर्दै भन्नुभयो ‘अव हेर्नुहोस अर्को साल यो सवै वाटोहरु कालोपत्रे हुनेछन, हामी सरसर आउने वातावरण तयार गर्नेछौ ।’

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दहचोक महोत्सवको निरन्तरताका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

उहाँले बागमती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गर्दै भन्नुभयो ‘प्रदेश सरकारलाई खोज्न तपाईहरु जाने दिन अव गए अव प्रदेश सरकार तपाईहरुलाई नै खोज्दै तपाईहरुको घर आगनमा आउँने छ ।’

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न पर्यटन महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

बागमती प्रदेशका सांसद केशव पोखरेलले विकास र समृद्धिका लागि जनताहरुको जनअपेक्षाको कदर गर्दै विकास र पूर्वाधारमा आफूहरु केन्द्रित रहेको बताउँनु भयो ।

समितिका अध्यक्ष हरिशरण थापाले सरकारले तोकेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा चन्द्रागिरी १ का वडा अध्यक्ष राजेन्द्र केसीले दहचोकको समग्र विकासमा स्थानीयहरुको व्यापक सहभागिता र विकासप्रति माया भए दहचोकको समृद्धिमा आमुल परिर्वतन हुने उहाँको भनाइ छ ।

सो अवसरमा सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई सम्मान गरिएको थियो ।

सरकारले नेपाल भ्रमण वर्षका लागि एकसय गन्तव्यस्थलभित्र सूचीकृत गरेको इन्द्रदह र काजी कालू पाण्डेको समाधिस्थल रहेको छ । उक्त क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ ।

कार्यक्रममा सञ्चारकर्मी तथा समाजसेवी रोशन दानी सम्मानित भएका छन् ।

सञ्चार माध्यम र सामाजिक क्षेत्रवाट अतुलनीय योगदान पु¥याएको र चन्द्रागिरीको आर्थिक सामाजिक,पर्यटकीय क्षेत्रमा पत्रकारिताको माध्यवाट चिनाउन मद्धत गरेको भन्दै सञ्चाकर्मी दानीलाई समानित गरिएको हो ।

समाज सेवासंगै पत्रकारिता समेत गर्दै आएका दानी न्यूज २४ संग आवद्ध छन् ।

LIVE TV