९ फाल्गुन २०७६, शुक्रबार
  • रोशन दानी,

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्नु भएको छ ।

‘प्रत्येक वर्षको फागुन ९ गते म रहुन्जेल दहचोकको इन्द्रदहमा बारम्बार भेटँुला’ आफ्नो यो भनाइलाई सार्थक पार्दै प्रधानमन्त्री ओली प्रतिकुल मौसमका वावजुद पनि दहचोकस्थित काजी कालुपाण्डेको समाधिस्थलमा माल्यार्पण गर्न शुक्रबार दहचोक पुग्नु भएको हो ।

चौथो पटक दहचोक पुग्नु भएका उहाँले गत बर्षको भ्रमणमा प्रत्येक बर्ष आउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले विशेष सामरिक आधार क्षेत्र बनाएको तथा कालु पाण्डेको समाधिस्थल रहेको यस स्थलमा उहाँ पत्नी राधिका सहित पुग्नु भएको थियो ।

ऐतिहासिक महत्व बोकेको क्षेत्र भएर पनि प्रधानमन्त्री ओलीले वर्षको एक चोटि फागुन ९ गते आफू स्वयम् यहाँ आउने बताउनुभएको थियो ।

सोही प्रतिबद्धता बमोजिम अपरान्ह साढे दुई बजे प्रधानमन्त्री ओली चौथो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्नका लागि दहचोक पुग्नु भएको थियो ।

उहाँको यो भ्रमणले आन्तरिक पर्यटनमा टेवा पुर्याउने र भ्रमण वर्ष २०२० लाई समेत योगदान पुग्ने चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत विशिष्ट व्यक्ति सहभागी रहेका छन् ।

प्रधानमन्त्री ओलीले ०७२ को भूकम्पमा क्षतिग्रस्त भएर पुनर्निर्माण भएका दुई वटा सतलको समेत उद्घाटन गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले निर्माणाधीन पाँचतले भ्यूटावरको निरीक्षण अवलोकन समेत गर्नुभएको छ ।

LIVE TV