९ फाल्गुन २०७६, शुक्रबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, ९ फागुन । शिवरात्री पर्वको अवसरमा नेपालको दोश्रो पशुपतिनाथ मानिने कपिलवस्तुको तौलिहवा स्थित तौलेश्वर महादेवको मन्दिरमा आज बिहानैदेखि हजारौँको संख्यामा जल चढाउने भक्तालु दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

भगवान बुद्धको लुम्विनीमा जन्म भएपछि राजा शुद्धोधन र महारानी मायादेवी सबभन्दा पहिला यही शिवलिङ्गको दर्शन गरेको एक पुस्तिकामा उल्लेख छ । यस क्षेत्रका हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्वको रुपमा मनाइने शिवरात्रिको दिन आज तौलिहवा वजारमा ठूलो मेला समेत लागेको छ ।

विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहाँका हिन्दू धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो । सम्भवत एशियाकै शिवमन्दिरहरुमा रहेका शिवलिंगमध्ये सबैभन्दा ठुलो शिवलिंग यसै तौलेश्वर मन्दिरमा रहको विश्वास गरिन्छ

शिवरात्रीका दिनमा भगवानको कथा सुन्नाले आाफ्नो मनोकामना पुरा हुने विश्वासका साथ मन्दिर वाहिर वरपर सपरिवार कथा सुन्ने भक्तजनहरुको समेत भीड लागेको छ ।

हरेक वर्ष शिवरात्रीको अवसरमा कपिलवस्तु, रुपन्देही, दाङ, अर्घाखाँची जिल्लाका विभिन्न भुभागहरुका साथै भारतीय सीमा क्षेत्रका सिद्धार्थनगर र बलरामपुर जिल्लाबाट समेत हजारौँ दर्शनार्थीहरु यहाँको शिवलिंगमा पूजा गर्न तथा मेला गर्न आउने गरेका छन् ।

शिवरात्रिमा भक्तजनहरुलाई व्यस्थित ढंगले दर्शनको व्यवस्था मिलाउन एवं सुरक्षा प्रदान गर्न मन्दिर वरपर बिहानैदेखि नेपाल प्रहरी सशस्त्र प्रहरीहरु खटिएका छन् ।

LIVE TV