९ फाल्गुन २०७६, शुक्रबार
  • राेशन दानी

काठमाडाैँ, ९ फागुन । ‘प्रत्येक वर्षको फागुन ९ गते म रहुन्जेल दहचोकको इन्द्रदहमा फेरि भेटुँला’ यो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीकाे हाे । गत वर्ष उहाँले दहचोक भ्रमणकै क्रममा सम्बाेधन गर्नुभएकाे थियाे ।

आज फागुन ९ गते, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले विशेष सामरिक आधार क्षेत्र बनाएकाे तथा कालु पाण्डेको समाधि स्थल रहेको यस स्थलमा उहाँले चाैथाेपटक भ्रमण गर्न लाग्नुभएकाे छ ।

ऐतिहासिक महत्व बाेकेकाे क्षेत्र भएर पनि प्रधानमन्त्री ओलीले वर्षको एक चोटि फागुन ९ गते आफू स्वयम् यहाँ आउने बताउनुभएकाे थियाे । सोही इच्छा चाहनाबमोजिम आज साढे १ बजे प्रधानमन्त्री ओली चौथो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्नका लागि यहाँ आउनुहुने कार्यक्रम तय भएको छ ।

उहाँको यो भ्रमणले आन्तरिक पर्यटनमा टेवा पुर्याउने र भ्रमण वर्ष २०२० लाई समेत यो योगदान पुग्ने चन्द्रागिरि नगरपालिका- १ का वडाध्यक्ष राजेन्द्र केसीले बताउनुभयाे ।

उद्घाटन कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत विशिष्ट व्यक्ति सहभागी हुने जनाइएकाे छ ।

पत्नी राधिका शाक्यसहित दहचोक आउन लाग्नुभएका प्रधानमन्त्रीले ०७२ काे भूकम्पमा क्षतिग्रस्त भएर पुनर्निर्माण भएका दुई वटा सतलकाे उद्घाटन गर्ने कार्यक्रम पनि रहेकाे छ । साथै उहाँले काजी कालुपाण्डेकाे समाधिस्थलमा माल्यार्पण, झण्डाेत्ताेलन र निर्माणाधीन पाँचतले भ्युटावरको निरीक्षण अवलोकन समेत गर्ने कार्यक्रम रहेकाे ईन्द्र दह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले बताउनुभयाे ।

LIVE TV