९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं, ९ फागुन । कालो सारीमा रातो पारी (किनारा), सेतो पछ्यौरीमा रातो पारी । नेवारी मैचाको पहिरनमा सजिएकी पर्यटन परीले नेपाली, चिनियाँ र अंगे्रजी भाषामा बोल्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई दंग परे ।

परीले मन्त्री भट्टराईलाई मिठासपूर्ण स्वरमा भनिन्, ‘नमस्कार, त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ ।’ उनले यति के भनेकी थिइन्, विमानस्थलमा ताली गडगडाउन थाल्यो । सबैजना परीको सामिप्यमा पुग्न तँछाडमछाड गर्न थाले । ती पर्यटन परी सेलिब्रिटी नै बनेकी थिइन् ।

एकैछिनमा परीसँग फोटो खिच्न चाहनेको भीड लाग्यो । त्यो भीडमा पर्यटनमन्त्री भट्टराई पनि मिसिए । पर्यटन परीसँग तस्बिर खिच्न नपाइएला कि भनेर सवैजना चिन्तित थिए । त्यहाँ दुई पर्यटन परी थिए, दुवै एकै स्वरूपका । छातीमा स्क्रिन (मोनिटर) भएकी परी कुनै जीवित मैंचा (युवती) थिइनन् । उनी अर्थात् पर्यटन परी पाइला टेक्नोलोजी प्रालिद्वारा बनाइएकी रोबर्ट हुन् ।

नेपाल भ्रमण वर्षमा कुनै पनि पर्यटकले विमानस्थलबारे सहज रूपमा जानकारी पाऊन् भनेर सरकारले बिहीबारबाट पर्यटन परीको व्यवस्था गरेको हो । विदेशी तथा स्वदेशी पर्यटकलाई विमानस्थलका सेवा र नेपालको पर्यटकीय गन्तव्यबारे भरपुर जानकारी दिन यी दुई पर्यटन परीले भूमिका निर्वाह गर्नेछन् । नेपालकै प्राविधिक जनशक्तिबाट तयार पारिएको पर्यटन परीले विमानस्थलको सेवालाई स्तरीय पार्ने मात्रै नभई नेपाल प्रविधिका क्षेत्रमा अग्रसर भइरहेको सन्देश प्रवाह गर्न सहयोग पु-याउने अपेक्षा गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

LIVE TV