८ फाल्गुन २०७६, बिहीबार

काठमाडाैँ, ८ फागुन । योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने हुनुभएको छ।

करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित उहाँ नेपाल आउन लाग्नुभएको पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिनुभयो।

आगामी चैत २२ देखि पोखरामा आयोजना हुने तीनदिने योग शिविर सञ्चालन गर्न र पश्चिमाञ्चलको तीन स्थानमा गुरुकुल संस्था सञ्चालनको भूमिपूजा गर्न नेपाल आउन लाग्नुभएको हो। उहाँ सोही महिनाको २६ गतेसम्म नेपालमा रहने कार्यक्रम छ।

रामदेवको साथमा आचार्य बालकृष्णसहित अन्य गुरुको समेत सहभागिता रहने बताइएको छ। तीन वर्षअघि पनि उहाँ नेपाल आउनुभएको थियो। पाँच दिनअघि नेपाल भ्रमणमा आउनुभएका आचार्य बालकृष्णले रामदेवको भ्रमणको मिति तय गर्नुभएको हो।

‘नेपालले योग शिक्षालाई विशेष महत्व राखेको र विद्यालयमा समेत योग शिक्षा सञ्चालन गर्न थालेपछि त्यसलाई प्रोत्साहित गर्न गुरु रामदेव नेपाल आउन लाग्नुभएको हो’, संरक्षक सिंहले जानकारी दिनुभयो– ‘उहाँ आउने पक्का भएपछि योग शिविर र अन्य कार्यक्रमलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा काम शुरू गरेका छौं।’ उहाँका अनुसार रामदेवले पोखरा तथा स्याङ्जाको सावर र चापाकोटमा निर्माण हुन लागेको गुरुकुलको भूमिपूजा गर्ने कार्यक्रम तय भएको छ।

नेपालमा तीनदिन योग शिविर गरेपछि उहाँले कपिलवस्तु, भैरहवा, लुम्बिनी, पोखरा, चितवनलगायत गण्डकी र बाग्मती प्रदेशका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यक्रम छ। संरक्षक सिंहका अनुसार योग शिविर र नेपाल भ्रमण वर्ष सफल पार्न ५ सयदेखि १ हजार जनासम्म गुरु र पतञ्जलीका उच्च अधिकारी नेपाल आउनेछन्। नेपाल बसाइको क्रममा रामदेवले नेपालका प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेता र योगगुरुसंँग भेट गर्ने कार्यक्रम छ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

LIVE TV