विश्वभरका किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन मे महिनामा बेलायतमा हुने



प्रकाशित मिति : Feb 19, 2020
  • इन्दिरा चाम्लिङ,

लण्डन, ७ फागुन । किरात राईहरुले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा गर्ने भएका छन् ।

आगामी मे महिनाको २४, २५ र २६ तारिखमा गरिने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा भारतीय राज्य सिक्किमका पूर्व मूख्यमन्त्री पवन चाम्लिङको विशेष उपस्थिति रहने लण्डनको साउथ ह्यारोमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

किरात राई यायोक्खा बेलायत शाखाद्वारा आयोजित उक्त पत्रकार सम्मेलनमा अध्यक्ष कल्पना राइले मे २४ गते अल्डरसटस्थित एम्पाएर हलमा सम्मेलनको उद्घाटन र त्यसपछि बन्दसत्र लगायतका मे २४ र २५ का कार्यक्रमहरु ह्यारो बरो फुटबल क्लबमा हुने जानकारी दिनुभयो ।

कार्यक्रमको उदेश्यका बारेमा थप प्रष्ट पार्दै अध्यक्ष राइले विश्वभरका किराँत राईहरुबीच भाइचारा सम्बन्ध कायम गर्दै सबैलाई एकताको सूत्रमा समेट्न यो सम्मेलन उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले किराँत राई समुदायमा २८ वटा भाषाहरु प्रयोगमा रहेको तर केही किराँत राई भाषाहरु लोपोन्मुख रहेको चिन्तनीय अवस्थामा लोप हुनबाट बचाउने उपाय खोज्न पनि सम्मेलन प्रभावकारी हुने बताउनुभयो ।

अध्यक्ष राईले प्रकृतिपूजक राईहरुको बिभिन्न चाँडहरुको संरक्षण र सम्वद्र्धन गर्दै आफ्नो विशिष्ट संस्कार र संस्कृतिलाई अक्षुण राख्न साथै भौगोलिक र पेशागत रुपमा भूमण्डलीकृत राईहरुलाई आफ्नो मुल थातथलोसंगको सम्बन्ध स्थापित गरिराख्न यस सम्मेलनले महत्वपूर्ण टेवा पुर्याउने पनि बताउनुभयो ।

उक्त सम्मेलनमा बेलायतस्थित नेपाली राजदूत, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय काउन्सिलरहरु, अन्य जनप्रतिनिधिहरु, व्यापारी, समाजसेवी र सर्वसाधारणहरुको उपस्थिति रहने जानकारी दिइएको छ । हरेक बर्ष मे महिनामा किराँत राईहरुले मनाउने साकेला (उभौंली) को अवसर पारेर तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।

अध्यक्ष राईले बेलायतवासी किराँती र गैर–किराँतीहरु सबैबाट आर्थिक, नैतिक भौतिक लगायत सबै प्रकारका सहयोगहरु अपेक्षा समेत राख्नुभयो ।

त्यस्तै किरात राई यायोक्खा यूकेका उपाध्यक्ष मेजर योगेश राईले साकेला (उभौंली) चाडको महत्वमाथि प्रकाश पार्दै यस पटकको साकेला र तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनमा आर्थिक भौतिक सहयोगका लागि बिज्ञापन र स्टलहरुको संख्यामा बढोत्तरी गर्ने जानकारी दिनुभयो । साथै सो अवसरमा नेपालबाट केहि लोकप्रिय कलाकारहरु समेत बोलाउने योजना रहेको पनि जानकारी गराइएको छ ।

संस्थाका यूकेका सल्लाहकार तथा पूर्व उपाध्यक्ष दिवाकर राई, किरात राई यायोक्खा नेपालका संस्थापक सदस्य भूतपूर्व मेजर मानबहादुर राई, संस्थाकै नेपालका पूर्व अध्यक्ष डा.सुमाया राई र पूर्व उपाध्यक्ष ज्ञानबहादुर राई लगायत कार्यसमितिका सदस्यहरु र यूके शाखाका प्रतिनिधिहरुको पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो ।

किरात राई यायोक्खा बेलायतका कार्यवाहक महासचिव नरेश काङमाङ राईले सम्मेलनमा करिब ३० लाख रुपैयां खर्च हुने जानकारी दिदै आर्थिक श्रोत जुटाउन यही २२ फेब्रुअरीमा लन्डनको हयारो बरो फुटबल क्लवमा रात्रिभोजसहित एक सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिनुभयो ।

बेलायतमा रहेका १४ वटा प्रारम्भिक कमिटी र १७ देशमा रहेका शाखाबाट आर्थिक सहयोग मागिने पनि राईले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन जिम्मा लिएको किरात राई यायोक्खा बेलायतले कार्यक्रममा नैतिक, भौतिक तथा आर्थिक सहयोग गरिदिन पनि बेलायास्थित सबै संघ सस्था र सम्पूर्ण नेपाली समुदायसंग अपिल गरेको छ ।

किरात राईहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सन् २०११ मा नेपाल र दोश्रो सन् २०१५ मा भारतको सिलिगुडीमा गरिएको थियो ।

बेलायतमा हुन लागेको तेश्रो सम्मेलनमा नेपाल, भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, हङकङ, कतार, मलेसिया, जापान, कोरिया गरी १७ देशबाट करिब एकसयजना प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com