७ फाल्गुन २०७६, बुधबार

काठमाडौं, ७ फागुन । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा उपाधिको दाबेदार मानिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बोरुसिया डर्टमुन्डसँग पारजित भएको छ । मंगलबार राति डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा पिएसजी डर्टमुन्डसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

डर्टमुन्डलाई जित दिलाउनको लागि १९ वर्षीय युवा स्टार अर्लिङ हल्यान्ड नायक बने । दुवै गोल उनैले गरे । पिएसजीको लागि नेयमारले गोल गरे । हल्यान्ड यसै जनवरीमा डर्टमुन्डसँग अनुबन्धित भएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६९औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाएका थिए । उनले राफेल गुरेरोको प्रहार ६ यार्ड बक्सभित्र डिफेन्डरलाई लाग्दै फुस्केपछि उक्त बललाई हालान्डले गोलमा परिणत गरेका थिए ।

डर्टमुन्ड अग्रता धेरैबेर टिक्न सकेन । डर्टमुन्डले गोल गरेको ६ मिनेटमै पिएसजीले गोल फर्कायो । ७५औं मिनेटमा नेइमारले केलियन एमबाप्पेको पासमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

तर पीएसजीले गाेल गरेकाे दुई मिनेटमै तर हालान्डले गाेल गर्दै डर्टमुन्डलाई पनु: अग्रता दिलाए । उनले रेनाको पासमा पेनाल्टी क्षेत्रको बाहिरबाट गोल गर्दै पुन डर्टमुन्डलाई अग्रता दिलाए । त्यसपछि पिएसजी खेलमा फर्किन नसक्दा खेल डटर्मुन्डले २–१ ले जित्यो ।

खेलको दोस्रो लेग मार्च ११ मा पेरिसको घरेलु मैदानमा हुनेछ ।

LIVE TV