६ फाल्गुन २०७६, मंगलवार
  • राजु पौडेल

झापा, ६ फागुन । विभागीय टोली त्रिभुवन आर्मी क्लब कठिन जित निकाल्दै झापामा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ अन्तरले स्तब्ध पार्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीको जितका लागि टेकबहादुर बुढाथोकीको दुई गोल गरे ।

खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै बुढाथोकीले टिमलाई अग्रता दिलाएका थिए । आर्मीको पहिलो हाफको अग्रतालाई रोक्दै मानेभञ्ज्याङले खेलको ४७ औँ मिनेटमा गोल गर्दै पुनरागमन गर्यो । मानेभञ्ज्याङका रैकेत बुअमले प्रहार गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएको थियो । उनको प्रहारले सोझै जाली चुमेको थियो । तर, थप समयको अन्तिम मिनेटमा बुढाथोकीले दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

खेलको म्यान अफ दि म्याच आर्मीका सेसेहाङ आङ्दम्बे घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । बुधबार लिग विजेता मच्छिन्द्र क्लब र गोर्खा ब्वाईज रुपन्देहीबीच अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।

LIVE TV