६ फाल्गुन २०७६, मंगलवार
  • रामगोपाल तमखु,

काठमाडौं, ६ फागुन । चीनबाट फर्किएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्रको क्वारेन्टाइनमा १४ दिनको लागि स्वास्थ्य निगरानीको लागि उच्च सतर्कताका साथ राखिएको छ ।

यता अभिभावकहरु भने खरिपाटीमा राखिएका आफना सन्तानलाई भेट्न आतुर देखिएका छन् । चीनको कोरोना प्रभावित क्षेत्र वुहानमा रहेका आफ्ना सन्तानहरुको पीडादायी क्षण सम्झदा पनि निकै डर र चिन्ता लागेको उनीहरुको भनाइ छ ।

तर, नेपाल सरकारले उचित व्यवस्थापनका साथ चीनबाट फर्काएर १४ दिनका लागि भक्तपुरको खरिपाटी ल्याइपुर्याउँदा भने अभिभावकरु निकै खुसी देखिएका छन् ।

ललितपुर नख्खुकी लीला भट्टराई आफ्ना सन्तानलाई भेट्न निकै आतुर छिन् । खरिपाटीमा रहेका आफ्ना छोरा छोरीहरुले भने बमोजिमका आवश्यक सामान र खाद्यान्न लिएर अभिभावकहरु भक्तपुरको खरिपाटीमा आइपुगेका थिए ।

करिब १८/१९ दिनको बेचैनीपछि नेपाल फर्कदा परिवार खुशी भएका छन्, भने सरकारको तयारीप्रति पनि सन्तुष्ट देखिएका छन् । यस्तै खुसी लहरमा उभिएकी छिन् लीला पनि ।

यस्तै ललितपुर कै नख्खुका चेतनाथ भट्टराई आफना छोरा, बुहारी र नातिनी भेट्न खरिपाटी आइपुगे । छोरा समिर भटराई चीनमा सर्जन डाक्टर, बुहारी गाइनोमा एमडी गर्न चीन पुगेको र उनीहरुका साथमा ७ बर्षीया नातिनी पनि गएकी थिइन् ।

उनीहरु नेपाल फर्कन १७ गतेको टिकट काटेका थिए । तर, कोरोना प्रभावका कारण १५ गते प्लेन रद्ध भएपछि उनीहरु चीनमै अडकिएका थिए । अहिले भने चेतनाथ दम्पत्ति खुशी छन् । उनीहरु पनि छोरा बुहारी र नातिनीका लागि खाद्यान्न र केही आवश्यक सामानका साथ खरिपाटी पुगेका थिए ।

LIVE TV