६ फाल्गुन २०७६, मंगलवार
  • रामगोपाल तमखु,

भक्तपुर, ६ फागुन । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था बारे बुझ्न स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितको टोली आज खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनमा पुगेको छ ।

मन्त्री ढकाललाई नेपाली सेनाका चिकित्सक टोलीका प्रमुख मेजर डाक्टर नविन फुँयालले क्वारेन्टाइनमा रहेका १ सय ७५ जना पूर्णरुपमा स्वस्थ्य रहेको जानकारी गराउनु भएको थियो ।

निगरानीमा रहेकाहरुलाई २४ घण्टामा दुई पटक विहान र बेलुका शरीरको तापक्रम नाप्नुपर्ने व्यवस्था गरिएको जानकारी पनि डाक्टर फुँयालले गराउनु भएको थियो ।

क्वारेन्टाइन निरीक्षणपछि सञ्चारकर्मीसंग स्वास्थ्य मन्त्री ढकालले चीनबाट नेपालीहरुलाई फर्काउन अघि सरकारप्रति भएको अविश्वासलाई क्वारेन्टाइनमा रहेका नेपालीहरुको भनाइले चिरेको जिकिर गर्नुभयो ।

सरकार कुरा भन्दा पनि काममा बढी विश्वास गर्ने भएकाले क्वारेन्टाइनमा नेपालीहरुलाई उचित व्यवस्थापनका साथ राखिएको मन्त्री ढकालको भनाइ छ ।

नेपालमा कोरोना भाइरसको कुनै पनि प्रभाव र संक्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको आफ्नो भनाइ मन्त्री मन्त्री ढकालले पुनः दोहोर्‍याउनु भयो ।

LIVE TV