६ फाल्गुन २०७६, मंगलवार
  • केदार शर्मा,

चितवन, ६ फागुन । नवलपरासी सुस्ता पूर्वस्थित हुप्सेकोट गाउँपालिकाको सवारी साधन सिक्ने क्रममा भएको दुर्घटनापछि फरार रहेका गाउँपालिका कार्यालय सहयोगी र प्र्रशासन अधिकृतलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको छ ।

गत माघ ७ गते हुप्सेकोट गाउँपालिकाकी अध्यक्षको गाडीको ठक्करबाट स्थानीय ३ बर्षीय बालक दीप गाहाको मृत्यु भएको थियो ।

बालकको मृत्यु भएपछि वालकको आफन्तलाई सहानुभूति दिनुको सट्टा गाँउपालिका अध्यक्षले १०÷१५ लाख दिने र मिलेर जान पटक–पटक आग्रह गरेको मृतककी आमा मीना गाहा मगरको भनाइ छ । आफ्नो बच्चाको अन्त्येष्टि समेत थाहा नदिई गरिएको मृतकका आमा गाहा मगरको दुखेसो छ ।

कार्यालय सहयोगी देबबहादुर रानाले हुप्सेकोट गाउँपालिका–४ नयाँ बजारमा गाउँपालिका उपाध्यक्षलाई घर छोडेर फर्कने क्रममा गाउँपालिकाको गाडीले ठक्कर दिँदा ३ वर्षीय बालकको घटनास्थलमै ज्यान गएको थियो ।

ज्यान गएको दिनदेखि प्रशासन शाखा प्रमुख शिव सुबेदी फरार रहेको गाँउपालिकाकी उपाध्यक्ष कोपिला मल्लले जानकारी दिनुभयो ।

देबबहादुर रानाले सवारी चलाउनुको सट्टा गाँउपालिकाका प्रशासकीय अधिकृत शिब सुबेदीले सिक्ने क्रममा अनियन्त्रित भएर सडक छेउमा रहेका बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

उक्त दुर्घटनामा वडा नम्वर ५ का वडाध्यक्ष पदमबहादुर राना मगर चढ्ने मोटरसाइकललाई समेत गाडीले ठक्कर दिएको थियो । ग १ झ ३८९ नम्बरको गाउँपालिकाको गाडीले वडा अध्यक्षले रोकिराखेको मोटरसाइकललाई अगाडिबाट ठक्कर दिएको स्थानीयको भनाइ छ । उक्त घटनामा दुई जना घाइते भएका थिए ।

घटना माघ ७ गते भएको भएपनि जिल्ला प्रहरी कार्यलय कावासोतीले सवारी चालकलाई पक्राउ गर्न सकेको छैन । कावासोतीका प्रहरी प्रमुखले दीपक रेग्मीले पीडित पक्षले जाहेरी दिए अनुसार खोजी कार्य भइरहेको दावी गर्नुभएको छ ।

प्रहरी उपरीक्षक रेग्मीले फरार भनिरहदाँ फरार भनिएका चालक देबबहादुर राना भने खुलेआम हिडिरहेका छन् । उनले आँफूलाई गाँउपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले घटना मिलाउने भन्दै राखेको र आँफूले नभई प्रशासकीय अधिकृत सुबेदीले जबरजस्ती रोकिराखेको गाडी चलाउदा घटना घटेको स्वीकार गरेका छन् ।

उक्त गाँउपालिकाको सवारी साधन पटक–पटक दुरुपयोग भएको गुनासो स्थानीयले गर्दा समेत बेवास्ताका कारण घटना घटेको स्थानीय मात्रिकाप्रसाद रानाको भनाइ छ ।

उनका अनुसार मंसिर २७ गते सवारी साधनको दुरुपयोग भएको भन्दै गाँउपालिकाको ध्यानाकर्षण गराइएको भएपनि जिम्मेवार नबन्दा बालकको ज्यानै जाने गरी दुर्घटना भएको हो ।

LIVE TV