६ फाल्गुन २०७६, मंगलवार

काठमाडौं, ०६ फागुन । अभिनेत्री सारा अली खान र कार्तिक आर्यनको फिल्म ‘लभ आज कल’को कमाईमा भारी गिरावट आएको छ ।

प्रणय दिवसको अवसर ‘१४ फेब्रुअरी’मा दर्शकमाझ रिलिजमा आएको ‘लभ आज कल’ ओपनिङ–डे’को अवसरमा राम्रो कलेक्शन गर्न सफल बनेको थियो ।

फिल्मको ट्रेलर रिलिज भएसँगै सारा र कार्तिकको फ्यानहरु फिल्मको लागि निकै उत्साहित थिए । तर, फिल्म रिलिजमा आइसकेपछि दर्शकहरुले खासै राम्रो रिभ्यू दिन सकेनन्, जसको सीधा असर फिल्मको कमाईमा परिरहेको छ ।

ट्रेड एनालिष्ट तरण आदर्शले यस फिल्मको ताजा बक्स अफिस कलेक्शनको आँकडा सेयर गरेका छन्, जहाँ फिल्मले चौथो दिन २.७५ करोडको बक्स अफिस कलेक्शन गरेको छ । ओपनिङ–डे’को दिन यो फिल्मले १२.४० करोडको राम्रो कलेक्शन गरेको थियो ।

तर, फिल्मको कमाई विस्तारै बढ्नुपर्नेमा घट्दै गएको छ । फिल्मले दोस्रो दिन ८.०१ करोडको कमाई गरेको थियो, भने तेस्रो दिन ८.१० करोडको कमाई गरेको थियो । यो फिल्मले चार दिनमा जम्मा ३१.२६ करोडको हाराहारीमा बक्स अफिस कलेक्शन गरेको छ ।

इम्तियाज अली निर्देशित यस फिल्मको पूरानो भर्सन २००८ मा रिलिजमा आएको थियो । उक्त फिल्ममा सैफ अली खान र दीपिका पादुकोण मुख्य भूमिकामा थिए, जुन सुपरहिट बनेको थियो ।

तर, सोही सुपरहिट फिल्मको नयाँ भर्सनले खासै कमाल गर्न सकिरहेको छैन । सारा र कार्तिकले दर्शकहरुलाई प्रभावित पार्न असफल बने ।

LIVE TV