६ फाल्गुन २०७६, मंगलवार
  • घनश्याम मिश्र

जनकपुरधाम, ६ फाल्गुन । धनुषाको मिथिला नगरपालिकामा पत्रिका बेच्ने एक (हकर) युवक घर छेउको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

मिथिला नगरपालिकास्थित ढल्केवरमा ‘जनकपुर टुडे’ पत्रिका बेच्दै हिँड्ने मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ब्रम्हदेव महतोका छोरा १६ वर्षीय विवेक कुमार महतोको शव आफ्नै बगैँचामा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा आज (मंगलबार) बिहान साँढे ८ बजे फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तिर्थ कुमार कार्कीले जानकारी दिए ।

बिहान ८ बजेसम्म पत्रिका बाँड्दै हिंडेका युवक साढ़े ८ बजे अचानक झुण्डिएको अवस्थामा भेटिनु रहस्यमय रहेको स्थानीयले बताएका छन् । ढल्केवरस्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत विवेकले आत्महत्या होइन्, उसलाई हत्या गर्न लगाइएको पीडित परिवारको दावी छ ।

युवकले आत्महत्या गरेको हो कि आत्महत्या गर्न उत्प्रेरित गरिएको हो,यो अनुसन्धानको विषय बनेको छ । पीडित परिवारले घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गरेको छ । विगत एक महिनादेखि ढल्केवरमा श्रृंखलाबद्ध अपराधिक घटनाहरु हुँदै आएपनि प्रहरी प्रशासनले अपराधीलाई पक्राउ गर्न नसकेको स्थानीयको गुनासो छ ।

घटनाको विषयमा धनुषा प्रहरीले अनुसन्धान अगाडि बढाएको न्यूज २४ लाई जानकारी दिएको छ । इन्चार्ज कार्कीका अनुसार प्रहरी पुग्दा विवेक जमीन भन्दा झन्डै नौ फिट माथि आपको रुखमा झुण्डिएको र दिशा पिसाब समेत लुगामा भएकाले आत्महत्या नै हुन सक्ने अनुमान गर्न सकिन्छ यद्यपी पोस्टमार्टमको रिपोर्ट आएपछि थप केहि भन्ने सकिने बताए ।

मृतकको शव यतिबेला पोस्टमार्टमको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाईएको छ ।

LIVE TV