६ फाल्गुन २०७६, मंगलवार

काठमाडौं, ०६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी नेपालको हितमा रहेको बताउनुभएको छ ।

अध्यक्ष थापाले एमसीसी देशको हितमा रहेको भएपनि जनतामा अनेक आशङ्का पैदा भएको अवस्थामा सरकारले नेपाली जनताको आशंकालाई चिरेर एमसीसी अघि बढाउन हितकर हुने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसीसी देशको हितमा रहेकाे बताउनु भएको हो ।

file picture

यसकासाथै उहाँले सरकारले एमसीसीका संबन्धमा आधिकारिक धारणा बाहिर ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभयो- ‘सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ, एमसिसी संसद्मा पारित हुने विषय ठूलो नभएपनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्छ ।’

अर्को प्रसंगमा बोल्दै अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि पाँच वर्षसम्म कायमै रहने बताउनुभयो ।

विगतमा अस्थिरताबाट जनता वाक्क भएको स्मरण गर्दै अब सरकार ढाल्ने कुरामा जनताको रुचि नभएको उहाँको भनाइ थियो । उहाँले आफ्नो पार्टीलाई हिन्दू राज्य र राजसंस्थासँग मात्रै जोडेर नहेर्न आग्रह गर्नुभयाे।

विगतको निर्वाचनमा भोग्नुपरेको पराजयबाट पाठ सिकेर कमजोरीहरुलाइ हटाउँदै पार्टीलाई देशको अग्रणी संस्थाको रुपमा अघि बढाउने अभियानमा आफु लागि परिरहेको बताउनुभयो ।

LIVE TV