५ फाल्गुन २०७६, सोमबार

काठमाडौं, ५ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका राम्रा काम देख्न नसकेर केवल आलोचना मात्र गरिरहेको भन्दै केही पूर्वशासकहरुप्रति लक्षित आक्रोश व्यक्त गर्नुभएको छ ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको उद्घाटन गर्दै आज अर्थमन्त्री खतिवडाले आफ्नो पालामा सिन्को नभाँच्ने र तर बाहिरिएपछि भने अर्काको खोइरो खन्ने प्रवृत्ति पूर्वप्रशासकहरुमा रहेको आरोप लगाउनुभयो । उहाँले आफू कार्यररत सरकारका दुई वर्षे उपलब्धि पहिले सरकारकाे नीति निर्माण तहमै बसेकाहरूले देख्न नसकेको भन्दै कडा जवाफ समेत दिनुभयाे ।

file photo

दशकौं नेतृत्वमा बस्नेहरुले औसतभन्दा बढी काम नै गर्न नसकेको तर अहिलेको सरकारले दुई वर्षमा धेरै काम गरेकाे दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दशकौं राज्यको नीति निर्माण र प्रशासनको नेतृत्वमा रहेर भूमिका निर्वाह गर्नेहरुबाटै अहिले सरकारका दुई वर्षे कामकाजको आलोचना भइरहेको छ । नीति निर्माणको तहमा बसेर औसतभन्दा कम कार्य सम्पादन तथा कार्यकुशलता देखाउने र अहिलेको सरकारले औसतभन्दा धेरै माथिको काम गर्दा पनि आलोचना गर्ने उहाँहरुलाई तपाईंहरुले चिनिरहनु जरुरी छ ।’

अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार घटाएपछि आर्थिक वृद्धि साढे ८ प्रतिशत नपुग्ने बहस सुरु भएको भन्दै अहिले केहीले दशमलवमा बहस चलाउन थालेको बताउनुभयो ।

‘कुनैबेला ६ प्रतिशत लक्ष्य राखेर १६ प्रतिशतसम्म मूल्य वृद्धि हुँदा पनि समाज चुप लागेर बसेको थियो,’ उहाँले भन्नुभयो, ‘अहिले पोइन्ट फोरमा बहस अगाडि बढिरहेकाे छ । अनि बुझ्नुस् हामी कति लक्ष्यको नजिक पुगेका छौं ।’

LIVE TV