५ फाल्गुन २०७६, सोमबार
  • अमर काफ्ले

इनरुवा, ५ फागुन । वरिष्ठ पत्रकार कमल पौडेललाई ब्लड क्यान्सर भएको छ । ब्लड क्यान्सर पीडित पौडेल हाल काठमाण्डौंको सिभिल हस्पिटलमा उपचारको क्रममा छन् ।

जनआस्था साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका पौडेल नेपाल समाचारपत्र दैनिकका लागि लामो समय वरिष्ठ सह–सम्पादकको रुपमा रही जिम्मेबारी निभाएका व्यक्ति हुन् । इटहरीको नमुना कलेज र बिराटनरका केही क्याम्पसहरुमा पत्रकारिता विषयको अध्यापन गराउँदै आएका पौडेल केहि वर्षयता बिराटनगरबाट प्रसारणमा रहेको मकालु टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत छन् ।

बिरामी पश्चात पौडेललाई अस्पताल भर्ना गरिएको छ । सिभिल हस्पिटलले पौडेलको उपचारमा ३० लाख रुपैंया खर्च लाग्ने जनाएको छ । उपचारमा मोटो रकम खर्च हुने भएपछि पौडेलको परिवारले सहयोगको अपिल गरेको छ । एक साताभित्र ३० लाख रकम उठाउनु पर्ने हुँदा पौडेलका आफन्त तथा शुभचिन्तकहरुले सकेको सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।

पत्नी, दुई छोरा र एक छोरी रहेका विरामी पौडेलको उपचार सहयोगका लागि गोफन्डीमा खाता समेत खोलिएको छ । डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा संयुक्त रुपमा सहयोगका लागि गोफन्डीमा खाता खोलिएको छ ।

LIVE TV