४ फाल्गुन २०७६, आईतवार

एजेन्सी, ०४ फागुन । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विश्वका विभिन्न देशहरूले विभिन्न उपाय अपनाइरहेका छन् ।

तर जापानी अधिकारीले भने पानीजहाजमा रहेका यात्रुहरूका लागि आइफोन बाँडेका छन् । क्रुजशिपमा रहेकामध्ये केही मानिसमा कोरोनाका संक्रमण देखिएको थियो ।

त्यसैले त्यहाँ रहेका अन्य व्यक्तिलाई त्यससम्बन्धी अपडेट दिनका लागि आइफोन बाँडिएको हो ।

डायमण्ड प्रिन्सेस क्रूजशिपमा यात्रारत् केही व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण देखिएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुल ७ सय ७१ जनाको जाँच गर्दा २ सय २८ जनामा कोरोना देखिएको थियो । जहाजमा ३ हजार ७ सय जना सवार थिए । उनीहरूलाई सामूहिक रूपमा २ हजार आइफोन वितरण गरिएको हो ।

आइफोनमा रहेको एपमार्फत यात्रुहरूले आफूलाई मानसिक तनाव भएमा सीधै मानसिक रोग विशेषज्ञ तथा परामर्शकर्तासँग छलफल गर्न सक्दछन् । साथै डाक्टरसँग भेटको समय लिने र औषधि अर्डर गर्ने काम पनि एपबाट गर्न सकिन्छ ।

LIVE TV