४ फाल्गुन २०७६, आईतवार

एजेन्सी, ४ फागुन । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रोपटक दिल्लीको मुख्यमन्त्रीमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उपराज्यपाल अनिल बैजलले दिल्लीको रामलीला मैदानमा आयोजित एक कार्यक्रममा केजरीवाललाई पद र गोपनीयता शपथ गराएका हुन् ।

अरविन्द केजरीवालपछि मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राई, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले पनि मन्त्री पदको शपथ लिए । केजरीवालले अघिल्लो सरकारको मन्त्रीत्व कायमै राख्दै उल्लिखित व्यक्तिहरुलाई मन्त्री बनाएका हुन् ।

यद्यपि जनताले केजरीवालको क्याबिनेटमा कुनै पनि महिलालाई समावेश नगरेको भन्दै प्रश्न उठाएका छन्। उनको शपथ ग्रहण समारोहमा प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएको थियो । तर प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वारायणी पुगेकाले उपस्थित भएनन् । दिल्लीका सात सांसद, सबै निगम पार्सद, भारतीय जनता पार्टी र कांग्रेसका प्रदेश अध्यक्षलाई पनि सपथ ग्रहण समारोहमा बोलाइएको थियो । तर सो समारोहमा अन्य कुनै पनि राज्यका मुख्यमन्त्रीलाई भने निम्त्याइएन ।

शपथ ग्रहण गरेपछि मुख्यमन्त्री केजरीवालले रामलीला मैदानमा भेला भएका मानिसहरूलाई सम्बोधन गरेका थिए । सम्बाेधनमा उनले ‘भारत माता की जय’ भन्ने नाराकाे तुमुल ध्वनिका साथ भाषण शुरु गरे ।

सम्बाेधनमा मुख्यमन्त्री केजरीवालले यो केवल आफ्नो मात्र विजय नभएर समस्त दिल्ली र दिल्लीबासीकै विजय रहेकाे बताए । उनले भने, ‘हरेक दिदीबहिनी, हरेक आमा र दिल्लीका हरेक परिवारको विजय हो याे ।’

‘विगत पाँच वर्षमा हाम्रो प्रयास भनेको दिल्लीको द्रुत गतिमा विकास हुनुपर्छ भन्नेमै केन्द्रित थियाे,’ उनले भने, ‘आगामी पाँच वर्ष र त्यसभन्दा पछि पनि दिल्लीको विकास यस्तै तरहले जारी रहनेछ ।’

केजरीवालले चुनावमा कसैले आफ्नो पार्टीलाई भोट दिए पनि नपाए पनि उनी सबैका मुख्यमन्त्री रहने बताएका छन् । कुनै पनि पार्टीसँग विभेद नगर्ने बताउँदै उनले भने, ‘चुनावको समयमा भएको कुरा अब बितिसकेको छ । हाम्रा विरोधीहरूले हाम्रो बारेमा जे भने पनि हामीले त्यसलाई क्षमा दियौं । दिल्लीलाई अगाडि बढाउन अब म सबै पार्टीहरू र केन्द्रीय सरकारसँग मिलेर काम गर्न चाहन्छु।’

LIVE TV