३ फाल्गुन २०७६, शनिबार

रौतहट, ०३ फागुन । रौतहटको परोहा नगरपालिकाको वडा नं. ६ मा कार्यरत गरुडा नगरपालिका वडा नं. ५ निवासी जयकिशोर महत्तोले आफ्नै छिमेकी जयनारायण यादवसँग एउटा बयलगाडाको भर्पाई भन्दै १८ लाख रुपैयाँको कागज गरेका छन् ।

महतोले झुटो कागज बनाएर यादवको २४ कठ्ठा ६ धुर जमिनसमेत हडपेका छन् । यादवका जेठा छोराले मदिरा सेवन गरेको समयमा ६ धुर जमिन दिने भन्दै महतोसँग ५० हजार रुपैयाँ लिएका रहेछन् ।

सो कुरा यादवले थाहा पाएपछि महतोको पैसा तिर्ने तर, आफ्नो नाममा भएको जमिन नबेच्ने अडान लिए ।

तर, महतोले छिमेकी यादवलाई ६ धुर जग्गा आफ्नो नाममा गर्न दबाब दिन थाले । यादव आफूले बरु ब्याजसहित सबै रकम तिर्ने तर, जग्गा फिर्ता नगर्ने अडान लिए ।

एकदिन महत्तोले जबरजस्ती यादवको बयलगाडा आफ्नो कब्जामा लिए । यादवले बयलगाडा छुटाउन इलाका प्रहरी कार्यालयमा उजुरी गरे ।

आरोपित महतोलाई प्रहरीले नियन्त्रणमा पनि लियो । तर, एक स्थानीयले दुई जनाको आन्तरिक झगडा गाउँमै मिलाउने भन्दै महतोलाई छुटाएर लगे ।

त्यसको भोलिपल्ट वडा अध्यक्ष राजगिर यादबको घरमा छलफल गरेर पीडित यादवको छोराले लिएको ५० हजारमा २५ हजार हर्जनासहित ७५ हजार महतोलाई बुझाउनुपर्ने र महतोले गाडा फिर्ता गर्नुपर्ने सहमति गरियो ।

त्यसको केही घन्टापछि महतो फेरि जयनारायण यादवको घरमा पुगे । त्यसपछि उनले बयलगाडा बुझेको प्रमाणको लागि भन्दै कागज बनाउन भने । र दुवै पक्षको सहमतिमा कागज पनि बन्यो ।

तर, उक्त कागजमा भर्पाई ५० हजार हुनुपर्नेमा १८ लाख रुपैयाँ गरिएको रहेछ । यो कुरा यादवलाई तब मात्र थाहा भयो, जब जिल्ला अदालत रौतहटबाट उनको जमिन रोक्का भएको चिठ्ठी आयो ।

महतोले सोही कागजको आधारमा यादवलाई मुद्दा हालेका रहेछन् । अहिले यादवको घर र जमिन लिलामी हुने अवस्थामा छ । यादवलाई महतोले गरेका सम्पूर्ण हर्कतका बारेमा सारा गाउँका मानिसहरु जानकार छन् ।

उनीहरु महतोले अन्याय गरेकै कारण यादव घरबार बिहीन बनेको बताउँछन् । यता आरोपित जयकिशोर महतो भने आफूले १८ लाख रुपैयाँ ऋण दिएर नै कागज गरेको दाबी गर्छन् ।

हाम्रो टिम रिपोर्टिङको लागि पीडितको घरमा गएको थाहा पाएपछि उनी हाम्रो जिल्ला रिपार्टरको सम्पर्कमा आएका छन् ।

त्यतिमात्र होइन उनले हाम्रो केन्द्रीय कार्यालयमा समेत फोन गरेर नास्ता खर्च दिने भन्दै उक्त रिपोर्ट प्रसारण नगरिदिन आग्रह गरेका छन् ।

यसैबीच उनले रिपोर्ट नबजाईदिन आग्रह गर्दै रौतहटस्थित हाम्रो टिभी जर्नलिष्टलाई पैसा दिने प्रयास गरिरहेका छन् ।

जयकिशोर महतोको कीर्ते कागजका कारण जयनारायण यादवको पूरै परिवार नै विस्थापित भएको छ । यादवको परिवार अहिले नजिकैको नदी किनारमा छाप्रो हालेर बस्ने गरेका छन् ।

LIVE TV