३ फाल्गुन २०७६, शनिबार

सप्तरी, ३ फागुन । मुस्लिम समुदायको धार्मिक सम्मेलन इज्तिमा आजबाट सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा सुरु भएको छ ।

करिब २ लाखको हाराहारीमा मुसलमान सहभागी भएको मुस्लिम आयोगले जानकारी दिएको छ । सम्मेलनमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुहरुले सम्बोधन गरेका छन् ।

आयोजकले सुरुमा नेपाल सरकारलाई नेपाल र भारतका प्रतिनिधि मात्र सहभागी हुने बताएर अनुमति लिएको थियो । पछि तेश्रो मुलुकका पनि सहभागी हुने भएपछि सम्मेलन विवादमा तानिएको थियो ।

पाकिस्तान, बंगलादेश, साउदी अरेविया, थाइल्याण्ड लगायतका मुलुकबाट सहभागी आएको सूचना पाएपछि गृहमन्त्रालयले सम्मेलन रोक्न निर्देशन दिएको थियो ।

आयोजकले तेश्रो देशबाट आएका प्रतिनिधि शुक्रबार साँझ फर्काएपछि आजबाट सम्मेलन सुरु भएको हो । सुरक्षा स्रोतका अनुसार पाकिस्तान लगायतका केही देशका प्रतिनिधि अझै सप्तरीको सदरमुकाम राजविराजको एक होटलमा रहेको बताएको छ । तर, आयोजकले सबैलाई फर्काइएको दाबी गरेको छ ।

सोमबारसम्म चल्ने सम्मेलनमा २ लाखको हाराहारीमा उपस्थित छन् । जिल्ला प्रशासन कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरु नै सम्मेलनस्थलमा खटिएका छन् ।

नेपाल–भारत सीमा नाका पनि बन्द गरिएको छ । इस्लामिक सम्मेलनबारे भारतीय सुरक्षा अधिकारीहरुले पनि चासो देखाएका छन् । हिजो मात्र नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच छलफल भएको थियो । नेपालले सीमा क्षेत्रमा समेत ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरेको छ ।

LIVE TV