३ फाल्गुन २०७६, शनिबार
  • भगतराम थारु

नेपालगन्ज ३ फागुन । बर्दियाको ठाकुरबाबा नगरपालिकामा सुरक्षित विपन्न आवास निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजनामा भएको सुरक्षित विपन्न आवास निर्माण सम्बन्धी अन्नरक्रिया कार्यक्रममा नगरका ९ वटा वडाका स्थानीयवासी सहभागी थिए ।

विपन्न समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक नेपालको संविधान, २०७२ मा व्यवस्था भए बमोजिम विपन्न घरधुरीहरुलाई सुरक्षित आवासको व्यवस्थाको लागि स्थानीय सरकार संचालन ऐन, २०७४ र ठाकुरबाबा नगरपालिकाको प्रशासकीय कार्यविधि नियमावली, २०७५ को दफा ३ ले दिएको अधिकार बमोजिम यो कार्यविधि संचालनमा ल्याएको हो ।

सुरक्षित विपन्न आवास अनुदान प्राप्त गर्नका लागि नेपाली नागरिकताको प्रतिलिपि, विगतदेखि सो स्थानमा स्थायी बसोबास गर्दै आएको प्रमाण, जग्गाधनी प्रमाणपूर्जा, विजुलीबत्तिको सुविधा शुल्क रसिद, सम्बन्धित वडाले विपन्न परिवारका लागि सिफारिस अनिवार्य हुनुपर्ने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो ।

सम्झौतापछि लाभग्राहीले नगरपालिकाबाट सिफारिस गरेको बैंकमा खाता खोल्नुपर्ने, सुरक्षित विपन्न आवासका लागि उपलव्ध गराउने अुदान एक घरलाई १ लाख उपलव्ध गराउने, नगरपालिकाले सम्झौताको आधारमा बैंक मार्फत दुई किस्तामा रकम उपलव्ध गराउने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । नगरपालिकासंग भएको सम्झौता बमोजिम नियम पूरा गरेमात्र रकम पाउने नगरपालिकाले जनाएको छ ।

जनताको घरघरमा खुसी छाओस भन्ने उद्देश्यका साथ नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित आवासको व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो । जनतले आफ्नो कर्तव्य पूरा गरे चिटिक्क परेको घर निर्माण गरिने उहाँले जिकिर गर्नुभयो । गत सालदेखि सुरु गरिएको नगरपालिकाले पहिलो बर्ष ७६ वटा घर निर्माण गरेको जानकारी गराउनुभयो । पहिले भन्दा यस बर्ष ८१ जनालाई छनोट गरिसकेको र यसै बर्ष अझ थप गरी १ सय १ वटा बनाउने लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो ।

जनतालाई १ लाखको सहयोग गर्नपनि सानो नभएको हुनाले यसबाट लाभ लिन उहाँले आग्रह गर्नुभयो । ठाकुरबाबा नगरपालिकाको संयोजकत्वमा भएको सुरक्षित विपन्न आवास निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपप्रमुख कृष्णा कुश्मा थारु, वडा नं. १ का वडा अध्यक्ष श्यामलाल थारु, वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु, राधा चौधरी, निम प्रसाद थारु लगायत सुरक्षित विपन्न आवास निर्माणमा परेका ९ वटै वडाका स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

LIVE TV