३ फाल्गुन २०७६, शनिबार
  • सुवास लामिछाने

पर्वत, ३ फागुन । जलजला गाउँपालिका वडा नं. ३ वारी बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका एक बालकलाई शनिबार दिउँसो कालीगण्डकी नदीले बगाएको छ ।

कुश्मामा संचालित सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव हेर्ने गएका म्याग्दीको धौलागिरी गाउँपालिका वडा नं. १ गुर्जाका अन्दाजी ९ बर्षका शिशिर छन्त्याललाई कालीगण्डकी नदीले बगाएको हो ।

नदीले बगाएर झण्डै सय मिटर तल पु¥याएका बालकलाई तत्काल सुरक्षाकर्मीहरुको सहयोगमा उद्धार गर्दा बालक घाइते अवस्था भेटिएका थिए । नदीले बगाएका कारण बालकको हात, खुट्टा र ढाडमा समेत गम्भीर चोटपटक लागेको प्रहरीले जनाएको छ । उनको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भैरहेको छ । महोत्सव स्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाका अनुसार सुरक्षाकर्मीले बगाएको पाँच/सात मिनेटमै उद्धार गरेका कारण बालकको ज्यान बचाउन सफल भएको हो । नदी किनारमै गरिएको उक्त महोत्सव सुरक्षाका दृष्टिकोणले संवेदनशिल रहेको छ । पटक पटक जिल्ला सुरक्षा समितिको बैठकले उक्त स्थानमा महोत्सव गर्न अस्वीकृत गरेपनि पूर्व सांसद समेत रहेकी रेडियोकी अध्यक्ष चापागाईले अटेर गरेरै महोत्सव आयोजना गर्नुभएको हो ।

सुरक्षा समितिको बैठकले उक्त ठाउँको विकल्प खोज्न आग्रह गरेको थियो । नदी किनारमै संचालन गरिएको र अझै दर्शकहरुका लागि डुंगा शयरको समेत आकर्षण रहेकाले अझै दुर्घटना बढ्न सक्ने देखिएको छ । यस अघि बाह्र पटकसम्म महोत्सव गर्दै आएकी पूर्व सांसद चापागाईको महोत्सव वर्षेनी अपारदर्शी र हिसाव किताब समेत सार्वजनिक नगरेको गुनासो चुलिएपछि यसपटक कुश्माबाट सारेर जलजलाकै वारीबेनीमा महोत्सव आयोजना गर्नुभएको हो ।

बर्षेनी लाखौ रुपैयाँ आम्दानी गर्ने तर संस्थागत समेत नगर्ने र हिसाव किताब समेत सार्वजनिक नगर्ने भएपछि रेडियो संचालन गरेको संस्था नारी उत्थान समाजका पदाधिकारीहरुले समेत संस्थाबाट बाहिरीएका थिए । नदीकिनारको जोखिम स्थानमा संचालित महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फागुन १ गते उद्घाटन गर्नुभएको थियो।

LIVE TV