३ फाल्गुन २०७६, शनिबार

काठमाडौं, ०३ फागुन । मङ्सिर २७ गतेदेखि शुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग आज समापन भएको छ ।

अङ्क तालिकाे शिर्ष स्थानमा रहेको टिम त्रिभुवन आर्मी क्लब र दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबले उपाधिका लागि आज प्रतिस्पर्धा गरे । उपाधि भिडन्तमा आर्मीसँग एक शून्यको जित निकाल्दै मच्छिन्द्र लिग च्याम्पियन बन्यो ।

च्याम्पियन बनेको मच्छिन्द्रले नगद रु ५० लाख नगद प्राप्त गरेको छ । लिगमा उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले ३५ लाख प्राप्त गरेको छ । त्यस्तैगरी तेस्रो भएको मनाङ मर्स्याङ्दी क्लबले २५ लाख, चौथो भएको थ्री स्टार क्लबले १५ लाख, पाँचौ बनेको नेपाल पुलिस क्लबले ७ लाख, छैटौं बनेको जावलाखेल युथ क्लबले ५ लाख रुपैँया प्राप्त गरेकाे छन् ।

यस्तै लिग भरी भएका खेलहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने ५ खेलाडीहरुलाइ व्यक्तिगत रूपमा समेत पुरस्कार प्रदान गरिएको छ । मनाङ मर्स्याङ्दी क्लबका दिप कार्की (उत्कृष्ट गोलकिपर), थ्री स्टार क्लबका अनन्त तामाङ (उत्कृष्ट डिफेण्डर), मछिन्द्र क्लबका विशाल राई ‘बी’ (उत्कृष्ट मिडफिल्डर), त्रिभुवन आर्मी क्लबका भरत खवास ( उत्कृष्ट फरवार्ड), मछिन्द्र क्लबका प्रवेश कटवाल (उत्कृष्ट प्रशिक्षक) बनेका छन् । उनीहरुलाइ जनही १ लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी एनआरटीका दर्शन गुरुङले मणि शाह युवा ईमर्जिङ खेलाडीको रुपमा १ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै फेयर प्ले टीम बन्दै थ्री स्टार क्लबले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

LIVE TV