३ फाल्गुन २०७६, शनिबार

काठमाडौं, ०३ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्र क्लबले चुमेको छ ।

शनिबार भएको उपाधि भिडन्तमा अङ्क तालिकाको पहिलो स्थानमा रहेको त्रिभुवन आर्मी क्लवलाइ शुन्यका बिरुद्ध एक गोल गर्दै तालिकाको दोस्रो स्थानमा रहेको मच्छिन्द्रले लिगको उपाधि चुमेको हो ।

३३ औं मिनेटमा मध्य भागमा पाएको फ्रिकिक रन्जित धिमालले प्रहार गर्दा आर्मीका बिकास तामाङले क्लियर गर्नेक्रममा भएको आत्माघाती गोल नै मच्छिन्द्रलाइ जितको लागि पर्याप्त बन्यो ।

सोही क्रममा बल जोगाउने क्रममा आर्मीका गोलकिपर बिकेश कुथु पोलमा ठोक्किएर घाइतेसमेत भएका छन् । त्यसपश्चात उनको स्थानमा बिश्वास चौधरीलाइ मैदान प्रवेश गराइएको थियो । खेलको अन्त्यसम्म गाेल गर्ने धेरै अवसर पाएपनि आर्मीले गोल गर्न नसक्दा उपाधिको नजिक पुगेर पनि उपाधि चुम्न असफल भयो ।

हालसम्म आइपुग्दा आर्मीले १२ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा एकमा बराबरी खेल्दै २९ अङ्क जोडेर अङ्क तालिकाको पहिलो स्थानमा पुगेको थियो । त्यस्तैगरी मच्छिन्द्रले खेलेका १२ खेलमध्ये नौमा जित, दुईमा हार र एकमा बराबरीका साथ २८ अङ्क जोडेको थियो ।

अघिल्लो संस्करणमा पुच्छारबाट दोस्रो स्थानमा रहेकाे मच्छिन्द्रले नयाँ इतिहास रचेकाे छ । च्याम्पियन बनेसँगै मछिन्द्रले ५० लाख नगद पाउनेछ । आर्मीलाइ उपाधि जित्न आजको खेलमा सहज थियो । किनकी आजको खेलमा मच्छिन्द्रसित बराबरी खेले पनि आर्मी लिग च्याम्पियन बन्ने अवस्था थियो ।

तर बराबरीमा रोक्न नसक्दा आर्मी उपविजेतामा सिमित रह्यो । विसं २०६३ को लिगमा पनि उपाधि होडमा पूगेको आर्मी नेपाल पुलिस क्लबसँग पराजित भएर उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो । गत बर्षको लिग च्याम्पीयन मनाङ भने यसपाली अङ्क तालिकाको तेस्रो स्थानमा खुम्चिएको छ ।

उपाधि होडमा पहिलोपटक सामेल भएको मच्छिन्द्रकाे लागि याे अहिलेसम्मकै ठूलो सफता हाे । शहीद स्मारक लिग गत मङ्सिर २७ गतेदेखि शुरु भएको थियाे ।

LIVE TV