३ फाल्गुन २०७६, शनिबार
  • तारा आचार्य

विराटनगर, ३ फागुन । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश नं. १ सरकारले संविधान कार्यान्वयन तथा प्रदेशको आधार निर्माणमा उल्लेखनीय कार्यहरु गरेको बताउनु भएको छ ।

प्रदेश नं. १ सरकारको दोश्रो वार्षिकोत्सव कार्यक्रमलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै प्रदेश प्रमुख प्यासीले दुई वर्षको छोटो अवधिमा संविधानले निर्दिष्ट गरेका कार्यहरुलाई पूरा गर्न सफल भएको बताउनु भयो । उहाँले प्रदेशको समृद्धिका लागि विभिन्न कार्यक्रमहरु ल्याएकोमा धन्यवाद दिदै भ्रष्टाचार प्रति शुन्य सहनशिलता अपनाउन र अधिक भन्दा अधिक जनताको हितमा कार्य गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले दुई वर्षको अवधिमा प्रदेश सरकारले संघीयताको आधारशिला तयार पारेको र यसै आधारमा प्रदेश सरकारले आफ्नो योजना र कार्यक्रमहरुलाई अघि बढाउन सक्ने बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक भएको बताउदै दुई वर्षमा ३९ वटा कानूनहरु निर्माण गरिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकार आफ्नै आधार निर्माण तथा कानून निर्माणमा जुटेको बताउदै सहमति र सहकार्यका आधारमा अघि बढिरहेकोले सल्लाह र सुझाव दिन आग्रह समेत गर्नुभयो । कार्यक्रममा प्रदेश प्रमुख प्यासीले प्रदेश सरकारको दुई वर्ष नामक प्रगति पुस्तिका विमोचन गर्नुभयो । सो अवसरमा प्रदेश प्रमुख प्यासीले एक वर्षको अवधिमा उत्कृष्ट कार्य गर्ने प्रदेश सरकारका कर्मचारीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सांसदहरु, प्रदेशका उच्चअधिकारी, सुरक्षा निकायका प्रमुखहरु, कर्मचारी र उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।

LIVE TV