३ फाल्गुन २०७६, शनिबार
  • सुरेश श्रेष्ठ,

सल्यान, ३ फागुन । नवजात छोराको छैंठी गरेको दिनदेखि नै सल्यानका एक युवा बेपत्ता भएका छन् ।

विगत १२ दिनदेखि सम्पर्कविहीन बनेका सल्यान शारदा नगरपालिका वडा नम्बर ३ निवासी उत्सव श्रेष्ठको खोजीकार्य तीब्र पारिएको सल्यान प्रहरीले जनाएको छ ।

खलंगामा आइएमई सञ्चालन गर्दै आएका श्रेष्ठको खोजतलासीमा सहयोग गरिदिन उनकी श्रीमति संगीता श्रेष्ठसहित घर परिवारका सदस्यले सबैमा आग्रह समेत गरेका छन् ।

श्रेष्ठकी पत्नी संगीता श्रेष्ठका अनुसार माघ २१ गते बिहान छोराको छैठी गरेको र खाना खाएर करीब १० बजेतिर उत्सव सधैंजस्तै आइएमइ खोल्न गएका थिए । केही समय पछि सेवाग्राहीरुपमा आएका दुई जनासँग भनाभन समेत भएको थियो ।

सेवाग्राहीहरुसँग भनाभन भएको आफूले सुनेको तर त्यसपछि उहाँ कहाँ जानुभयो आफूलाई थाहा नभएको पत्नी संगीताको भनाइ छ । । वेपत्ता भएलगत्तै प्रहरीमा समेत खोज तलासीका लागि संगीताले निवेदन समेत दिएकी छिन् ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानले घरबाट सम्पर्कविहीन भएका श्रेष्ठको खोजतलासी तीब्र पारिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले श्रेष्ठको खोजतलासीका लागि मातहतका प्रहरी युनिटलाई नाम र हुलियासहित खबर गरिसकेको र खोज तलाश जारी रहेको जानकारी दिनुभयो ।

LIVE TV