३ फाल्गुन २०७६, शनिबार

काठमाडौं, ०३ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिका लागि भइरहेको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबिरुद्ध मच्छिन्द्र क्लबले १ गोल गरेर अग्रता लिएको छ ।

दशरथ रङ्गशालामा उपाधिका लागि भइरहेको खेलमा मछिन्द्रको तर्फबाट रञ्जित धिमालले ले ३२ औ मिनेटमा गोल गरेका हुन् । दुवै टोली पहिलोपटक उपाधि जित्ने होडमा छन् ।

आर्मी लिग तालिकाको शीर्षस्थानमा छ । मच्छिन्द्र दोस्रो स्थानमा छ । आर्मीले १२ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा एकमा बराबरी खेल्दै २९ अङ्क जोडेको अवस्थामा छ । मच्छिन्द्रले हालसम्म खेलेका १२ खेलमध्ये नौमा जित, दुईमा हार तथा एकमा बराबरीका साथ २८ अङ्क जोडेको छ ।

अघिल्लो संस्करणमा पुच्छारबाट दोस्रो स्थानमा रहेका कारण मच्छिन्द्रको एक अङ्क घटाइएको हो ।

आर्मीलाई उपाधि जित्न आज मच्छिन्द्रसित बराबरी खेले पुग्छ भने मच्छिन्द्रलाई उपाधि चुम्न आजको खेल अनिवार्य जित्नुपर्ने अवस्था छ । मच्छिन्द्र उपाधि होडमा पहिलोपटक सामेल भएको हो ।

आर्मीले विसं २०६३ को लिगमा नेपाल पुलिस क्लबसित पराजित भई उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो ।

LIVE TV