३ फाल्गुन २०७६, शनिबार

काठमाडौँ, ३ फागुन । हालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकबाट पारित पार्टीको विशेष अभियानको तयारी पूरा भएको छ ।

माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव गरिएको थियो ।

प्रस्ताव सर्वसम्मतिले पारित भएपछि नेताहरू कार्यान्वयनमा जुट्नुभएको थियो । अब फागुनभरि प्रदेशस्तरको अभियानका लागि तयारी भेला, बैठक गर्ने र चैतदेखि अभियान सञ्चालन गर्ने कार्यक्रम तय भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चैत र वैशाखमा केन्द्रीय सङ्गठन विभागको योजना र निर्देशनअनुरूप सङ्गठित सदस्यता नवीकरण गर्नुपर्ने छ । चैत १ देखि जेठसम्म पार्टीको एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि जिल्ला तहदेखि स्थानीय तहसम्म अभियान सञ्चालन हुने नेकपाका कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । फागुन ४ गते प्रदेश ५ को बुटबलबाट अभियानका लागि भेला र बैठक सुरु भई प्रदेश १ को विराटनगरमा गएर सम्पन्न हुने उहाँले बताउनुभयो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि यस्तो कार्यक्रम तय भएको हो । अभियानमा शीर्ष नेताहरू पनि सहभागी हुने कार्यक्रम छ । फागुन ४ गते प्रदेश ५ मा भेला भई ५ गते बैठक हुने छ । त्यस्तै फागुन ६ गते कर्णाली प्रदेशमा भेला र ७ गते गते बैठक हुने छ ।

फागुन ९ गते सुदूरपश्चिम प्रदेशमा भेला र १० गते बैठक हुने छ भने फागुन १२ गते गण्डकी प्रदेशमा भेला र १३ गते बैठक हुने बताइएको छ । १५ गते बाग्मती प्रदेशमा भेला र १६ गते बैठक हुने छ । फागुन १८ गते प्रदेश २ मा भेला र १९ गते बैठक तथा प्रदेश १ मा फागुन २० गते भेला र २१ गते बैठक हुने नेकपाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

LIVE TV