३ फाल्गुन २०७६, शनिबार

काठमाडाैं, ३ फागुन । सरकारले चीनको कोरोना प्रभावित क्षेत्र वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धारका आज (शनिबार) विमान पठाउँदै छ । पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० जहाज आज दिउँसो पौने तीन बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।

नेपाल वायुसेवा निगमको अनुसार चीनबाट आइतबार राति साढे २ बजे फिता हुने सेड्युल तय भएको छ । हुवेई प्रान्तका विभिन्‍न शहरबाट १ सय ८५ नेपाली विद्यार्थी स्वदेश फर्कने भएका छन् । उनीहरूलाई विमान चार्टर गरी नेपालीको उद्धार गर्न लागिएको हो ।

चीन जाने विमान चालक र अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष तालिम दिइसकेको छ । मन्त्रालयकाे अनुसार नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मी र चीन जाने जहाजका चालक दलका १६ सदस्यसहितको टोलीलाई तालिम दिइएकाे छ ।

चीन जाने टोलीमा तीनजना विमान चालक, ६ जना क्याबिन क्रू, दुईजना इन्जिनियर, १-१ जना फ्लाइट डिस्प्याचर र लोड मास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।

विमानस्थल केहि घण्टा अवरुद्ध हुने

शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा केहि घण्टा अवरुद्ध हुने भएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज अवतरणका बेला ‘एयरक्राफ्ट डिसइन्फेक्सन’ गर्नुपर्ने हुन्छ । त्यसैका लागि विमानस्थल केहि घण्टा अवरुद्ध हुने भएको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालका अनुसार सरकारले ‘जहाजबाट यात्रुलाई कसरी ओराल्ने ? पहिलो परीक्षण कसरी र कहाँ गर्ने ? त्यहाँबाट क्वारेन्टाइनमा लगेपछि कसरी राख्ने आदी विषयमा पूर्व तयारी गरिसकेको छ । साथै विमानस्थलमा कार्यरत कर्मचारीले कार्यस्थलमा मास्क, पञ्जा, आवश्यकताअनुसार अन्य स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने छन् ।

सचिव बरालका अनुसार चीनबाट नेपाल ल्याउने यात्रुको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेशन वार्डमा राखेर उपचार गर्ने व्यवस्था गरेको छ ।

चीनबाट ल्याइएका नेपाली नागरिकलाई विमानस्थलबाट बाहिर ल्याउँदा पनि नियमित आवात जावतको बाटो नभई अलग्गै बाटो प्रयोग गर्ने तयारी गरिएको छ । यात्रुहरुले सर्जिकल मास्क लगाउनुपर्ने, शंकास्पद लक्षण देखा परेको छ भने उक्त यात्रु र निजको सम्पर्कमा आएका ब्यक्तिहरूले एन ९५ मास्कको प्रयोग गर्नुपर्नेछ ।

क्वारेन्टाइन निर्माण पूरा

चीनको वुहानबाट स्वदेश फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । चीनको वुहानबाट स्वदेश फर्किएका विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिने छ ।

क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित सङ्क्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा फडिन्द्रप्रसाद बरालले बताउनुभयाे ।

क्वारेन्टाइनमा रहेका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शङ्का हुनासाथ उपचारका लागि अस्पतालमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ। डा बरालले चीनमा स्वास्थ्यपरीक्षण गरेर सङ्क्रमण नभएकालाई ल्याउने र एयरपोर्टमा पुनः स्वास्थ्य जाँच गरी त्यहाँबाट पाँचवटा बसमा हालेर खरिपाटीको क्वारेन्टाइनमा राखिने उहाँले जानकारी दिनुभयाे ।

क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा र महिला निर्देशकको क्वाटरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयाे ।

प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ।

१४ दिनसम्म भेट्न नदिइने

कोरोनाको उच्च संक्रमण रहेको ठाउँबाट उद्दार गरेर ल्याएपछि कवारेन्टाइनमा राख्‍न लागिएका नेपाली विद्यार्थीलाई १४ दिनसम्म अभिभावकले भेट्न नपाउने भएकाे छ ।

नेपाल आइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुन: उनीहरूको स्वास्थ्य जाँच गरिनेछ । विमानस्थलमा परीक्षण गर्दा ज्वरो र खोकी लागेका विद्यार्थीलाई सीधै टेकु अस्पताल पठाउने तयारी सरकारले गरेको छ ।

LIVE TV