२ फाल्गुन २०७६, शुक्रबार
  • रिया भण्डारी,

भक्तपुर, २ फागुन । सरकारी तयारीलाई आधार मान्ने हो भने कोरोना भाइरस संक्रमण फैलिएको चीनको हुवेई प्रान्तमा रहेका नेपालीहरु आइतबार दिउँसो नेपालमा हुनेछन् ।

स्थानको खोजीमै १५ दिन अलमलिएको सरकारले अन्ततः भक्तपुरको खरिपाटीमा रहेको विद्युत प्राधिकरणको भवन क्वारेन्टाइनका लागि तयार पारेको छ ।

स्थानीयवासीको विरोधका बाबजुद सरकारले रोजेको यो स्थानलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार गरिएको छ ।

आइतबार नेपाल आइपुग्ने १ सय ८० जना नेपालीलाई त्यहाँ राखिनेछ । उद्दार गर्न जाने जहाजका चालक दलका सदस्यसहित सबैलाई पनि क्वारेन्टाइनमा राख्ने सरकारको योजना छ ।

लामो आलोचनापछि सरकारले चीनबाट ल्याउन लागेको नेपाली नागरिक कसैलाई पनि परिवारजनसँग सरकारको तोकेको मापदण्डको दिन भित्रसम्म भेट्न दिने छैन ।

चीनमा रहेको नेपाली नागरिक ल्याउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आवात जावतमा पनि १ घण्टा असर पर्ने बताइएको छ ।

चीनबाट ल्याइएका नेपाली नागरिकलाई विमानस्थलबाट बाहिर ल्याउँदा पनि नियमित आवात जावतको बाटो नभई अलग्गै बाटो प्रयोग गर्ने तयारी पनि गरिएको छ ।

चीनबाट ल्याइएका नेपाली नागरिकलाई पूर्ण निगरानीपछि स्वास्थ्य अवस्थाको जानकारी लिएर मात्र क्वारेन्टाइनबाट घर पठाइने छ ।

LIVE TV